काठमाडौं। नेपालगञ्ज उपमहानगरपालिकाले अटो रिक्सामाथि डोजर चलाएर नष्ट गरेकोप्रति नेपाली कांग्रेस निकट नेपाल अटो रिक्सा, ईरिक्सा तथा ठेला श्रमिक संघले ध्यानाकर्षण भएको बताएको छ । यस क्षेत्रमा काम गर्ने मजदूरहरूको गाँस खोस्नेगरी रिक्सा नष्ट गरिएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न संघका अध्यक्ष खिलनाथ बस्नेतले बिहीवार विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।
संघका अध्यक्ष बस्नेतका अनुसार देशभर प्रहरी र ट्राफिक प्रहरीबाट रिक्सा समातेर कब्जा गर्ने रणनीति लिइएको छ । यो कार्य तत्काल बन्द हुनुपर्ने उनले बताए । ‘हजारौं मजदूर र उनीहरूका परिवारका सदस्यहरू यसमै आश्रित छन् । नेपालगञ्जसहित देशका विभिन्न जिल्लामा भइरहेको धरपकडप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अटो रिक्सा व्यवस्थित गर्न हामी तयार छौं, तर बल प्रयोग रोकिनुपर्छ,’ उनले भने ।
बल प्रयोग नरोकिए आफूहरू चरणबद्ध रूपमा आन्दोलनमा जाने समेत संघले चेतावनी दिएको छ ।
बल प्रयोग नरोकिए आफूहरू चरणबद्ध रूपमा आन्दोलनमा जाने समेत संघले चेतावनी दिएको छ । नष्ट गरिएका अटो रिक्साको उचित क्षतिपूर्ति दिन संघले माग समेत गरेको छ । यस क्षेत्रमा संलग्न श्रमिकहरू असुरक्षित बन्दै गएको भन्दै सुरक्षाको ग्यारेन्टी गर्न समेत संघले भनेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले अटो रिक्सा नष्ट गरेकोप्रति चौतर्फी आलोचना भइरहेको छ । नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टले पत्रकार सम्मेलन गरेर आफूले अटो रिक्सा व्यवस्थित गर्न खोजेको, तर विधि नमिलेको स्वीकारिसकेका छन् । ‘अटो रिक्सालाई डोजर चलाएर नष्ट गर्ने विधि नमिलेकै हो । यसबाट नगरवासीमा पर्न गएको नकारात्मक प्रभावमा क्षमा चाहन्छु,’ उनले भने । नेपालगञ्ज उपमहानगरले ६३१ ओटा ई–रिक्सा नियन्त्रणमा लिएकोमा आवश्यक कागजात र प्रक्रिया पुर्याएर ५५५ ओटा ई–रिक्सा फिर्ता दिएको बताएको छ ।