काठमाडौँ, २८ पुस : चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतोपहरामा आज दिउँसो भएको सवारी साधन दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।
काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी ५०० मिटर तल खसी दुर्घटना भएको थियो । अपराह्न १:५५ बजेको समयमा भएको दुर्घटनाबाट चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनास्थलमै मृत्यु हुनेमा काठमाडौँ मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ लाजिम्पाटका डा महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतम थिए । दुर्घटनामा स्मारिकाकी आमा डा सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बागलुङको ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ ।
बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जीप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने नौजना घाइते भएका थिए । घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए । अन्य ५ जना घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
दुर्घटनामा जीप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीया सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । जीपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रासस