काठमाडौं। मुलुकको अर्थतन्त्र निकै शिथिल बनेको चर्चाबीच पछिल्लो समय अर्थतन्त्र विस्तार भइरहेको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३ दशमलव २ प्रतिशत रहेको उल्लेख गरेको छ । यो गतवर्षको सोही अवधिको आर्थिक क्रियाकलापसँग गरिएको तुलना हो ।
गतवर्षको पहिलो त्रैमासको तुलनामा यस वर्ष सोही अवधिमा आर्थिक क्रियाकलाप बढेको छ । यो मौसमी प्रभाव समायोजन नगरिएको तथ्यांक भएको कार्यालयको भनाइ छ । कार्यालयले आर्थिक क्रियाकलापको तथ्यांक, उत्पादन, लगानी, उपभोग र बचत केलाउने अन्तरराष्ट्रिय मापदण्ड र सिद्धान्तमा आधारित रहेर कुल गार्हस्थ्य उत्पादनको तथ्यांक सार्वजनिक गरेको हो ।
उसका अनुसार खानी र खनिजको क्षेत्र, निर्माण, होटेल व्यवसाय, वित्त र बीमाक्षेत्र, प्रशासन र सहयोगी क्षेत्र आदिमा उल्लेख्य सुधार देखिएको छ । गतवर्षको पहिलो त्रैमासको तुलनामा यस वर्ष खानी र खनिज १५ दशमलव ८ प्रतिशतले बढेको छ । निर्माण ११ दशमलव ४ प्रतिशतले बढेको छ । वित्त र बीमामा १३ दशमलव २ प्रतिशत तथा प्रशासनमा ८ दशमलव ८ प्रतिशतको विस्तार देखिएको छ ।
व्यापारमा भने पहिलो त्रैमासमा गिरावट आएको छ । गतवर्षको तुलनामा यस वर्षको पहिलो त्रैमासमा थोक तथा खुद्रा व्यापार र मोटर/मोटरसाइकल मर्मतसम्भारको क्षेत्रमा १ दशमलव २ प्रतिशतको गिरावट आएको देखिएको छ ।
तथ्यांक कार्यालयका अनुसार आव २०७९/८० को दोस्रो त्रैमासमा अर्थतन्त्र १ प्रतिशतले संकुचित भएको थियो । त्यसयता अर्थतन्त्रको वृद्धिदर मध्यम गतिमा छ । २०७९/८० को तेस्रो र चौथो त्रैमासमा अर्थतन्त्र क्रमश: २ दशमलव ४ र ४ दशमलव ३ प्रतिशतले बढेको थियो । सामान्यतया अर्थतन्त्र लगातार दुई त्रैमास संकुचित भएमा आर्थिक मन्दी भएको मानिन्छ । यसअनुसार चालू आवको पहिलो त्रैमास (साउन–असोज) मा गत आवको अन्तिम त्रैमासको तुलनामा अर्थतन्त्र संकुचित भएको छ । गत आवको अन्तिम त्रैमासमा मौसमी प्रभाव समायोजित आर्थिक वृद्धि (कुल गार्हस्थ उत्पादन) २ दशमलव ५ प्रतिशत रहेकोमा यस वर्षको पहिलो त्रैमासमा १ दशमलव ४ प्रतिशतले घटेको छ । गत वैशाख–असारको तुलनामा साउन–असोजमा विद्युत्, ग्यास, खानी र खनिज, व्यापार, यातायात र भण्डारजस्ता क्षेत्र घटेका छन् ।
नेपालमा आवको अन्तिम त्रैमासमा बढी आर्थिक क्रियाकलाप हुन्छ । खासगरी सरकारी खर्च धेरै हुने कारणले यो त्रैमासमा अरू त्रैमासको तुलनामा बढी आर्थिक क्रियाकलाप हुन्छ । यो त्रैमाससँग तुलना गर्दा पहिलो त्रैमासमा वृद्धिदर न्यून हुनु वा संकुचित भएको देखिनु स्वाभाविक भएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ईश्वरी भण्डारीले बताए । यसअघिका वर्षमा पनि पहिलो त्रैमासमा मौसमी प्रभाव समायोजित आर्थिक वृद्धिदर न्यून वा संकुचित हुने गरेको देखिन्छ । गतवर्षको पहिलो त्रैमासमा पनि मौसमी प्रभाव समायोजित आर्थिक वृद्धिदर शून्य दशमलव ९ प्रतिशतले संकुचित थियो ।
निजीक्षेत्रले भने अर्थतन्त्र मन्दीमा गएको बताउँदै आएको छ । अघिल्लो साता नेपाल उद्योग परिसंघले अध्ययन गरी सार्वजनिक गरेको प्रतिवेदनमा चालू आवको पहिलो त्रैमासमा समग्र बजार माग खस्किएको, कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागेको र उद्योगको कच्चा पदार्थ आयातमा समेत गिरावट आएको उल्लेख गरिएको थियो । औद्योगिक उत्पादनको समग्र बजार माग गतवर्षको पहिलो त्रैमासको तुलनामा यस वर्ष १२ दशमलव ६ प्रतिशत बिन्दुले घटेको परिसंघको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले यो वर्ष अर्थतन्त्रको आकार ६ प्रतिशत बढ्ने लक्ष्य राखेको छ । विश्व बैंकले चालू वर्षको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत पुग्ने अनुमान गत साता सार्वजनिक गरेको छ । विश्व बैंकको प्रतिवेदनमा आगामी वर्ष भने अर्थतन्त्रमा सुधार आउने उल्लेख छ । उसले सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावना प्रतिवेदनमा आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण छ । विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको वृद्धि राम्रो हो ।
गत आव नेपालको आर्थिक वृद्धिदर १ दशमलव ९ प्रतिशत थियो । अर्थमन्त्री डा. प्रकाशशरण महतले यस वर्ष ५ प्रतिशतभन्दा बढी नै आर्थिक वृद्धि प्राप्त हुने दाबी गर्दै आएका छन् । राष्ट्र बैंकले पनि यो वर्ष ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गर्दै आएको छ ।