ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालगञ्ज आईसीपी सञ्चालन जिम्मा टीआरएस एटलसलाई 

२०८० पुस, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। निर्माणको अन्तिम चरणमा रहेको नेपालगञ्ज एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालन तथा व्यवस्थापन गर्न निजी कम्पनी छनोट गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले आईसीपी सञ्चालनका लागि टीआरएस एटलस लोजिपार्क प्रालिलाई छनोट गरेको हो ।

समितिले आईसीपी सञ्चालनका लागि २०८० असार ११ गते अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । आईसीपी सञ्चालनको उक्त बोलपत्र आह्वानमा उक्त कम्पनीसहित भाटभटेनी, काठमाडौं र ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालि सहभागी भएका थिए । त्यसमध्ये संयुक्त लगानीको टीआरएस एटलस लोजिपार्क प्रालिसँग सम्झौता भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । सम्झौता अनुसार उसले ५ वर्ष आईसीपी सञ्चालन गर्नेछ । 

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन आईसीपीमा भौतिक संरचना निर्माणको कार्य सम्पन्न भइसकेको उनले बताए । उनका अनुसार हाल पानी ट्यांकी, सीसीटीभी जडान, नेटवर्किङ, फायरफाइटिङ प्रणालीलगायतको काम भइरहेका छन् । २०७७ असोज २६ गते उक्त आईसीपी निर्माण शुरू भएको थियो । नेपालको अन्तरराष्ट्रिय व्यापारलाई थप सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले निर्मित नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएको पनि गजुरेलले बताए । 

समिति र कम्पनीबीच भएको करार सम्झौताअनुसार एकीकृत जाँच चौकी सञ्चालन तथा व्यवस्थापन उक्त कम्पनीले गर्नेछ । हालसम्म मुलुकमा आठओटा यस्ता पोर्ट रहेको र सबै प्रतिस्पर्धात्मक प्रणालीबाट छनोट भएका निजीक्षेत्रका कम्पनीहरूमार्फत सञ्चालन भइरहेको उनको भनाइ छ । ‘यसबाट सेवाको स्तर वृद्धि भएको छ,’ उनले दाबी गरे, ‘राज्यको आम्दानी पनि बढेको छ भने अन्तरराष्ट्रिय अभ्यास हेर्दा पनि यस किसिमका पोर्टहरू निजीक्षेत्रमार्फत सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन भएको पाइन्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)