काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले २२ औं साधारणसभा सम्पन्न गरेको छ ।
मकवानपुरको हेटौंडास्थित होटेल एभोकाडोमा सम्पन्न साधारणसभाले रिक्त रहेको सञ्चालक पदमा रामकुमार बर्तौलालाई नियुक्त गरेको छ । उनी पद्मोदय प्रालिको प्रतिनिधित्व गर्दै संस्थापक समूहबाट निर्वाचित भएका हुन् ।
सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईकोे अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले अघिल्लो आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरणमाथि छलफल गर्ने, आव २०८०/८१ लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने लगायतका एजेन्डामा छलफल गरी पारित गरेको छ ।
साधारणसभामा सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि शेयरधनीका सल्लाह, सुझाव र जिज्ञासाबारे सञ्चालक समिति अध्यक्ष र कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।
समृद्धि फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको फाइनान्स कम्पनी हो । कम्पनीले हाल १३ ओटा शाखामार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, विप्रेषण, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यूआरकोड जस्ता डिजिटल सुविधा प्रदान गरिरहेको छ ।