ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

देशभर काम रोक्ने व्यवसायीको चेतावनी

Oct 10, 2017  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि व्यवसायीहरू आन्दोलित हुँदा विकास निर्माण प्रभावित हुने भएको छ । राजधानीको मुटुमा दिनदहाडै व्यवसायीमाथि गोली प्रहार हुनुले देशमा उद्योग–व्यवसाय गर्ने वातावरण नभएको भन्दै उनीहरूले देशभर विकास निर्माण रोकेर विरोध गर्ने बताएका छन् । घटनालगत्तै सिभिल अस्पतालमा जम्मा भएका निर्माण व्यवसायी तथा अन्य व्यवसायीहरूले घटनालाई बर्बर, अमानवीय र निन्दनीय भएको बताउँदै तत्कालै हत्यारालाई पक्राउ गरी कानूनी कारबाहीको माग गरेका छन् । आक्रोशित निर्माण व्यवसायी र आफन्तले गृहमन्त्रीको राजीनामासमेत माग गर्नुका साथै हत्यारालाई कारबाही नभएसम्म विकास निर्माणको काम गर्न नसकिने बताए । विरोध प्रदर्शनका कारण बानेश्वर–तीनकुने सडकखण्ड केही बेर अवरुद्ध भएको थियो । सोमवार दिउँसो बानेश्वरको खरिबोटमा अज्ञात समूहको गोली प्रहारबाट घाइते गौचनको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो । घटनालगत्तै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घलगायतका व्यावसायिक संस्थाले घटनाको जति निन्दा गरे पनि कम हुने बताउँदै सुरक्षाको मामलामा राज्य चुकेको प्रतिक्रिया दिएका छन् । यस घटनाबाट उद्यमी–व्यवसायी त्रसित भएको उनीहरूको प्रतिक्रिया छ । व्यवसायीको सुरक्षामा सरकार गम्भीर नहुँदाको परिणाम नै यो घटना भएको महासङ्घ अध्यक्ष भवानी राणाले बताइन् । महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले लामो द्वन्द्व र सङ्क्रमणपछि निजीक्षेत्रले अब त काम गर्ने वातावरण होला भनेको अवस्थामा यो घटनाले व्यवसायीलाई फेरि आतङ्कित पारेको बताए । हेभी इक्यूपमेन्ट व्यवसायी महासङ्घका अध्यक्ष ताराबहादुर कुँवरले घटनामा संलग्न अपराधीहरूलाई तत्काल कानूनी कारबाही गर्नुपर्ने बताए । उनले यो घटनाले मुलुकभित्र शान्ति सुरक्षाको अवस्था बलियो छैन भन्ने प्रष्ट भएको बताए । नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रामशरण देउजाले घटनाको विषयमा गृहमन्त्री जनार्दन शर्मासँग जानकारी माग्दा गोली हान्ने समूहको पहिचान भए पनि अनुसन्धानमा प्रभावित हुनसक्ने भन्दै केही जानकारी नदिइएको बताए । गौचनको पारिवारिक स्रोतका अनुसार उनलाई कसैले पनि धम्की दिएको र यसअघि कुनै किसिमको घटना भएको थाहा नभएको बताएको छ । महासङ्घ आन्दोलनमा महासङ्घको सोमवार साँझ बसेको आकस्मिक बैठकले अध्यक्ष गौचनको ‘क्रूर र आततायीपूर्ण’ हत्याको घोर भत्र्सना गर्दै शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ । तत्काल हत्यारा पत्ता लगाई कडाभन्दा कडा सजाय गर्न महासङ्घले सरकारसँग माग गरेको छ । हत्यारा पत्ता लागेर कारबाही नभएसम्म देशभरका सम्पूर्ण निर्माण व्यवसायी आन्दोलित हुने भन्दै महासङ्घले तत्कालका लागि बोलपत्रका कार्यहरूमा सहभागी नहुने, मङ्गलवारदेखि बिहीवारसम्म महासङ्घ कार्यालयमा शोकपुस्तिका राख्ने, बुधवार देशभरका निर्माण कार्य बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)