ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३८ करोडले घट्यो चिया निकासी

२०८० पुस, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर। पूर्वी तराईका किसान र व्यवसायी सीटीसी चियाको निकासी घटेपछि चिन्तित छन् । गतवर्ष यस समयमा सीटीसी चियाको निकासी भइसक्नेमा यो वर्ष किसान र व्यवसायीका गोदाममा थन्किएको छ । भन्सार विभागका अनुसार पोहोरको तुलनामा यसपालि चिया निकासी घटेको छ । 

गत आर्थिक वर्ष (आव) को ५ महीनाको तुलनामा यो वर्षको सोही अवधिमा ३८ करोड ३८ लाख रुपैयाँ कमको चिया निकासी भएको छ । निकासी परिमाण २८ लाख ८३ हजार १८२ किलोले घटेको छ । चालू आवको पहिलो ५ महीनामा १ अर्ब ८७ करोड १७ लाख ७२ हजार रुपैयाँको ७१ लाख ८२ हजार ३४८ किलो चिया निकासी भएको छ । 

निकासी घटेको तथ्यांक र भारतीय व्यापारीले किन्न चासो नदेखाएपछि किसान र व्यवसायीलाई यसपालि चिया गोदाममै थन्किने हो कि भन्ने भयले सताउन थालेको छ । पछिल्ला तीन आवको तथ्यांक हेर्दा शुरू वर्षको तुलनामा दोस्रो वर्ष निकासी घटेको र तेस्रो वर्ष बढेको देखिन्छ । 

भारतीय चिया बोर्डले बेलाबेलामा अनेक बहाना निकालेर नेपाली चिया निकासीमा अवरोध गर्ने गरेको छ । नेपालबाट भारतलगायत विश्वका २२ देशमा अर्थाेडक्स र सीटीसी चिया निकासी हुन्छ । अर्थाेडक्स भारत र तेस्रो मुलुक जान्छ भने सीटीसीको प्रमुख बजार भारत नै हो । नेपाल सरकारले भारत सरकारसँग सम्झौता गरी सीटीसी चिया निकासीमा अवरोध नहुने वातावरण बनाउनुपर्ने व्यवसायी बताउँछन् । यसो नगर्दासम्म स्वदेशी चिया उत्पादक र व्यवसायी ढुक्क हुन नसक्ने उनीहरूको भनाइ छ । 

चिया उत्पादन बढी भएको र भारतले ल्याब परीक्षणलगायतमा थोपर्ने शर्तले अहिले नेपाली सीटीसी चिया भारतीय बजारमा सहजै निकासी हुन नसकेको नेपाल चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ताले बताए । उनी भन्छन्, ‘यो वर्ष चिया निकासी घटेको छ । जुन गतिमा चिया भारतीय बजारमा जानुपर्ने हो त्यो नहुँदा किसान र व्यवसायी तयार भएको चिया गोदाममा थन्क्याउन बाध्य छन् ।’ 

भारतीय चिया बोर्डले बेलाबेलामा अनेक बहाना निकालेर नेपाली चिया निकासीमा अवरोध गर्ने गरेको छ । 

झापाका किसान पर्वत डाँगी अहिले घरघरमा चिया स्टक रहेको बताउँछन् । बढ्दो उत्पादन लागत र भारतीय चिया जस्तै अक्शनमा भाग लिन नपाउँदा नेपाली चिया जहिले पनि भारतीय व्यापारीको मूल्यमा बेच्नुपर्ने बाध्यता छ । किसान र व्यवसायीका अनुसार नेपाली सीटीसी चियाको उत्पादन लागत प्रतिकेजी १६५ रुपैयाँ पर्छ । भारतीय व्यापारी ८५ रुपैयाँ किलोमा माग्छन् । यसले गर्दा यसपालि चिया विक्री गर्न नसकिएको उनीहरूले बताए । झापा हल्दिबारीको पाराखोपी साना किसान चिया सहकारी संस्थामा आबद्ध डाँगी र उनको समूहको २५० बिगाहामा चिया बगान छ । उनीहरूले वार्षिक ६ लाख किलोसम्म चिया विक्री गर्छन् । 

नेपाली चिया परीक्षण गराउन कोलकाता लैजानुपर्छ । निकासीमा धेरै किसिमका झन्झट छन् । सरकारले भारत सरकारसँग चियाका सबै अवरोध हटाउने गरी सम्झौता गरे मात्र यो समस्याको दीर्घकालीन समाधान निस्कने नेपाल टी प्लान्टर एशोसिएशनका अध्यक्ष उदय चापागाईंले बताए । नेपाली सीटीसी र अर्थाेडक्स चिया भारतीय व्यापारीले किनेपछि अन्य चियामा मिसाउने गरेकाले भारतीय टी बोर्ड नेपाली चियाप्रति सकारात्मक बन्न नसकेको हो । चियाको गुणस्तरमा नेपाली किसान र व्यवसायीले ध्यान दिए चीनमा पनि निकासी गर्न सकिने उनले बताए । चापागाईंका अनुसार प्रदेश १ को २० लाख किलो सीटीसी र १० लाख किलो अर्थाेडक्स चिया मेची भन्सार नाकाबाट निकासी हुन्छ । 

भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट आव २०७७/७८ मा ३ अर्ब ७९ करोड ७१ लाख र २०७८/७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँको चिया निकासी भएको छ । आव २०७९/८० मा ३ अर्ब ९३ करोड ७२ लाख ६७ हजार रुपैयाँको १ लाख ६५ हजार ९४९ मेट्रिक टन चिया निकासी भएको तथ्यांक छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)