ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नृसिंहधाम, जहाँ बन्नेछ नेपालको पहिलो पानीमुनिको मन्दिर ! [तस्वीरहरू] 

२०८० पुस, ३  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटार धार्मिक पर्यटनमा प्रसिद्धी कमाउँदै छ । कारण हो– त्यहाँस्थित नृसिंहधाम । नेत्रावती (आँखु) र बुढीगण्डकीको संगम स्थलमा रहेको उक्त धाममा भगवान विष्णुको अवतार नृसिंहको मन्दिर छ । मन्दिर दर्शनका लागि दिनहुँ श्रद्धालु आउने गरेका छन् । 

मन्दिरबारे सामाजिक सञ्जालमा प्रचारप्रसार भएपछि पछिल्लो समय दिनहुँ श्रद्धालु आउन थालेको स्थानीय बताउँछन् । विभिन्न जिल्लाबाट श्रद्धालु आउन थालेपछि गाउँपालिकाले उक्त क्षेत्रलाई देशकै नमूना धार्मिक पर्यटकीय क्षेत्र बनाउने गरी काम गरिरहेको छ । यो वर्ष धामसम्म पुग्ने बाटो स्तरोन्नति गरिएको गाउँपालिका अध्यक्ष राजु उप्रेतीले जानकारी दिए । 

विडम्बना ! धार्मिक पर्यटनमा प्रसिद्धी कमाउन थालेको उक्त क्षेत्रको नामोनिशान भने बुढिगण्डकी जलविद्युत आयोजनाले मेटाउन लागेको छ । उक्त आयोजना १२ सय मेगावाटको बनेमा यो क्षेत्रसम्म आयोजनाको ड्याम बन्नेछ । आयोजनाको ड्याम बनेपछि मन्दिरलगायत क्षेत्र डुबानमा पर्नेछन् । 

यो अवस्थामा मन्दिरको प्रसिद्धी झनै चुलिने सम्भावना छ । अब प्रश्न उठ्ला– डुबानमा परेको मन्दिरको प्रसिद्धी कसरी चुलिन्छ ? यो अवस्थामा उक्त मन्दिर नेपालको पहिलो पानीमुनिको मन्दिर बन्नेछ । नेपालको पहिलो पानीमुनिको मन्दिर भए प्रसिद्धी नपाउने कुरै भएन !

नृसिंहधाम विकास संरक्षण मूल समिति अध्यक्ष फणिकान्त छत्कुली नृसिंहधाम क्षेत्रमा आयोजनाको ड्याम बने नृसिंह मन्दिर पानीमुनिको मन्दिर बन्ने बताउँछन् । ‘त्यो अवस्थामा अहिलेको मन्दिर क्षेत्रलाई चारैतिर सिसाले घेरिनेछ । त्यही हिसाबले मन्दिरको जग पनि बलियो बनाएका छौं,’ उनले भने । 

ड्याममा पानीको सतह ७० मिटरसम्म हुँदा त्यसलाई थेग्न सक्ने गरी मन्दिरको जग निर्माण गरिएको उनले बताए । मन्दिरको जग बनाउन २ करोड रुपैयाँ खर्च गरिएको उनले जानकारी दिए । 

पानीमुनि मन्दिर भएमा श्रद्धालु कसरी दर्शन गर्छन् त ? त्यो अवस्थामा मन्दिरसम्म डुंङ्गामा जाने र लिफ्टबाट मन्दिर पुग्ने गरी संरचना बनाइने उनले बताए । 

तर, उक्त आयोजना ६०० मेगावाटको मात्रै बन्ने भएमा उक्त क्षेत्रमा ड्याम बन्ने छैन । समिति अध्यक्ष छत्कुली आयोजनालाई ६०० मेगावाटको बनाउन सकिने विषयमा पनि बहस भएको सुनाउँछन् । यस्तो भएमा नृसिंहधाम क्षेत्रमा ड्याम नबन्ने उनले बताए । यो अवस्थामा नृसिंहधामको अस्तित्व कायमै रहनेछ । 

गोरखा र धादिङको सिमानामा पर्ने यो दोभान भगवान नृसिंहको उत्पत्तिस्थल रहेको स्थानीयको दाबी छ । स्थानीयका अनुसार नृसिंह खम्बाबाट आगिञ्चोकसम्मको क्षेत्रलाई भगवान नृसिंह प्रकट भएको क्षेत्र मानिन्छ । यही कारण त्यहाँका स्थानीय अन्य क्षेत्रमा नृसिंहको मन्दिर सार्ने मनसायमा छैनन् । स्थानीयका अनुसार आगिञ्चोक होलिका दहन भएको र नारदमुनिले प्रह्लादलाई उपदेश दिएको स्थल पनि हो । 

स्थानीयका अनुसार २०६६ फागुनदेखि यस क्षेत्रको बारेमा खोज तथा अनुसन्धान शुरु भयो । त्यसपछि शास्त्रीय प्रमाणका आधारमा पं. मोहन लामिछानेले स्थानीयवासीको सहयोगमा नृसिंह मन्दिरको स्थापना गरे । 

कसरी पुग्ने नृसिंहधाम ?

धादिङबेसीबाट टारीबेसी हुँदै बसमा सल्यानटार पुग्न सकिन्छ । धादिङबेसीबाट करीव १ घण्टा ४५ मिनेट बसको यात्रा गरे सल्यानटार पुगिन्छ । त्यहाँबाट म्याजिक भ्यानमा २५ मिनेटको यात्रा गरे नृसिंहधाम पुग्न सकिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)