ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषिमा लगानीको तयारी गर्दै भाटभटेनी

२०८० पुस, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । मुलुकको प्रमुख खुद्रा किनमेल केन्द्र तथा डिपार्टमेन्ट स्टोरका रूपमा परिचित भाटभटेनी सुपरस्टोर सञ्चालन गरिरहेका व्यवसायीले कृषिक्षेत्रमा समेत लगानी गर्ने तयारी गरेका छन् । नेपालको आन्तरिक बजारमा अहिले विदेशी कृषि उत्पादनले प्रभाव जमाइरहेकाले त्यसलाई प्रतिस्थापन गर्न व्यावसायिक कृषि जरुरी रहेको महसुस गर्दै भाटभटेनीले कृषिमा लगानी गर्ने तयारी गरेको सञ्चालक मीनबहादुर गुरुङले बताए । 

अबको नयाँ व्यावसायिक यात्रा कृषि क्षेत्रतर्फ हुने उनको भनाइ छ । कृषिक्षेत्रमा धेरै ठूलो सम्भावना हुँदा पनि नेपालमा यो क्षेत्र सधैं उपेक्षामा पर्ने गरेको उनको बुझाइ छ । ‘मेरो अबको व्यावसायिक योजना कृषि नै हो,’ आर्थिक अभियानसँगको विशेष कुराकानीमा गुरुङले भने, ‘राज्यले जमीनको चक्लाबन्दीलगायत कृषि क्षेत्रमा केही राम्रा नीतिगत सुधार गर्न सके यो क्षेत्रले ठूलो फड्को मार्न सक्छ ।’ उनले कृषिक्षेत्रमा लागेर प्रगति हुँदैन भन्नुभन्दा फिल्डमा उत्रेर काम गरे सफलता मिल्ने बताए ।

शुरुआती चरणमा करीब १ हजार बिगाहा जमीन भाडामा लिएर आधुनिक प्रविधिबाट धान, गहुँ, मकै र कोदोखेती गर्ने योजना रहेको गुरुङले बताए । पछि विस्तारै साना र ठूला किसानलाई जोड्दै उनीहरूलाई त्यही अनुसारको नाफा दिने उनको भनाइ छ । हाल भाटभटेनीले बेच्ने सामानमा २० देखि २५ प्रतिशत ऊ आफैले आयात गर्छ । बाँकी सामान नेपालकै आपूर्तिकर्ताबाट किन्ने गुरुङले जानकारी दिए । भाटभटेनी शुरू गर्दा यसले ५ प्रतिशत मात्र नेपाली सामान विक्री गथ्र्यो । अहिले बढेर ३०–३५ प्रतिशत पुगेको छ । 

२०४१ सालमा काठमाडौंको एउटा सटरमा चकलेट, बिस्कुट, चिज, बटर, केही विदेशी पेयलगायत विक्रीबाट शुरू भएको भाटभटेनी स्टोर अहिले संसारका अधिकांश डिपार्टमेन्ट स्टोरको दाँजोमा सबैभन्दा धेरै प्रकारका सामान विक्री गर्ने स्टोर बनिसकेको उनको भनाइ छ । 

काठमाडौं उपत्यकाभित्र र बाहिर गरी देशभर यसका २६ ओटा शाखा सञ्चालनमा छन् । बिर्तामोडमा नयाँ शाखा चाँडै खुल्दै छ । भाटभटेनीले आफ्ना देशभरका शाखामा ७ हजारभन्दा धेरैलाई प्रत्यक्ष रोजगारी दिएको छ । व्यवसाय विस्तार र सफलतामा काम गर्ने दृढ इच्छाशक्ति, मेहनत, इमानदारी र लगनशीलता नै सबैभन्दा ठूलो कडीका रूपमा रहने उनी बताउँछन् ।

  • पाँच वर्षभित्र सर्वसाधारणलाई शेयर
  •  व्यवसायलाई डिजिटल रूपमा अघि बढाइने
  •  सबैभन्दा ठूलो करदाता बन्ने आकांक्षा

पाँच वर्षभित्र आईपीओ जारी गर्ने योजना

३०/३५ वर्षको सफल इतिहास बोकेको भाटभटेनीले आगामी ५ वर्षभित्र सर्वसाधारणमा शेयर (आईपीओ) समेत जारी गर्ने योजना बनाएको छ । 

आईपीओ जारी गर्नु जरुरी रहेको भन्दै गुरुङले केही प्राविधिक पक्षहरू मिलेमा आगामी ५ वर्षभित्रै त्यो काम गर्ने योजना रहेको बताए । लामो र सफल व्यावसायिक अनुभवले परिपक्व भइसकेको भाटभटेनीले सरकारको साथ पाए विदेशमा समेत व्यवसाय विस्तार गर्दै निकट भविष्यमै यो व्यवसायलाई अनलाइन/डिजिटल स्वरूपमा समेत लैजाने गुरुङले बताए । व्यवसायलाई अझ विस्तार गर्दै मुलुककै सबैभन्दा ठूलो करदाताको रूपमा आफूलाई स्थापित गर्ने आकांक्षा रहेको पनि गुरुङले सुनाए । 

खोटाङमा जन्मेका गुरुङ यसरी भए सफल 

खोटाङ जिल्लाको सामान्य किसान परिवारमा २०१५ सालमा जन्मिएका गुरुङ धरानमा स्नातक तहसम्मको अध्ययन सकेपछि २०३१ सालतिर स्नातकोत्तर अध्ययन गर्न भन्दै ४ सय रुपैयाँ बोकेर काठमाडौं प्रवेश गरेको बताउँछन् । 

काठमाडौं आएको केही समयमै नेपाल बैंक लिमिटेडमा जागीर शुरू गरेका उनले हङकङ भ्रमणमा जाँदा महिलाले डिपार्टमेन्ट स्टोर सञ्चालन गरेको देखेपछि प्रभावित भएको बताए । त्यसपछि नेपाल फर्किएको केही समयपछि उनले श्रीमतीलाई सानो पसल खोलिदिएर व्यवसाय शुरू गरे । व्यवसाय राम्रो हुँदै गएपछि २०५० सालमा बैंकको जागीर छाडेर आफू पनि व्यवसायमा होमिएको उनले सुनाए । गुरुङको व्यवसायमा अहिले ६० प्रतिशत उनको र ४० प्रतिशत श्रीमतीको शेयर छ । भाटभटेनीले आजका दिनसम्म सफलता हात पार्नुमा सबैभन्दा ठूलो कुरा सामानको विक्रीमा कम मार्जिन र ग्राहकप्रतिको उत्तरदायीपन भएको उनी बताउँछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)