ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका परिमार्जन गरिने

Oct 11, 2017  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । गतवर्ष भदौ १ गतेदेखि लागू भएको बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका–२०७३ परिमार्जन गरिने भएको छ । बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका–२०६९ लाई विस्थापित गर्दै १ वर्षदेखि कार्यान्वयनमा रहेको उक्त निर्देशिकाप्रति गुनासो आउन थालेपछि बीमा समितिले परिमार्जन गर्न लागेको हो । समितिका अनुसार उक्त निर्देशिकामा कम्पनीका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को योग्यता र कार्यकाल तोकिएपछि बीमा कम्पनीका केही सञ्चालकहरूले विरोध गरेकाले परिमार्जन गर्न खोजिएको हो । बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)मा भएको व्यवस्थाजस्तै बीमा कम्पनीका सञ्चालक र सीईओको कार्यकाल एकपटकको चारवर्षे गरी दुई कार्यकाल बनाउनुपर्ने उनीहरूको माग छ । यो निर्देशिका आएको केही समयपछि बाफिया आएको र यसमा भएका कतिपय प्रावधान बाफियासँग नमिल्ने देखिएकाले पनि  संशोधनको आवश्यकता परेको समितिको भनाइ छ । निर्देशिकामा रहेको सञ्चालकको योग्यता कम्तीमा स्नातक हुनुपर्ने व्यवस्थालाई समेत खारेज गर्न समितिमाथि दबाब छ । बीमा कम्पनीका सञ्चालकहरूले बीमा कम्पनीमा लगानी गर्न योग्यताको छेकबार गरेकोमा विरोध गर्दै परिमार्जनमा जोड दिएको समिति स्रोतले बताएको छ । निर्देशिकामा संस्थागत सुशासनमा जोड दिनुपर्ने मागसमेत बीमकहरूको छ । समितिले निर्देशिका संशोधनका लागि छिटै एक कमिटी गठन गर्ने बताएको छ । स्रोतका अनुसार सम्भवतः सुशील सुवेदीको संयोजकत्वमा कमिटी गठन हुनेछ । बीमा समितिका एक स्रोतले अभियान संवाददातासँग भने, ‘निर्देशिकाप्रति असन्तुष्ट केही सञ्चालकले पाटन उच्च अदालतमा मुद्दा दायर गरेकामा समितिको पक्षमा फैसला भएको थियो । अहिले पनि सर्वाेच्च अदालतमा यससम्बन्धी एउटा मुद्दा विचाराधीन छ ।’ बीमा समितिले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर निर्देशिका ल्याएको भन्दै मोहनलाल दारुकाले मुद्दा दायर गरेको बताइएको छ । संवैधानिक इजलाश गठन नभएकाले उक्त मुद्दा हालसम्म पनि किनारा लाग्न नसकेको समितिको भनाइ छ । आफैले लगानी गरेको कम्पनीमा आफै सञ्चालक बस्न नपाउने भएपछि बीमा कम्पनीका सञ्चालकहरूमा असन्तुष्टि देखिएको थियो । पाटन उच्च अदालतमा निर्देशिकासम्बन्धी विषयलाई लिएर सगरमाथा इन्स्यारेन्सका अध्यक्ष आरके मानन्धरले पनि मुद्दा दायर गरेका थिए । तर, उनले पछि सोे मुद्दा फिर्ता लिएका थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)