ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामूहिक लगानी कोषको आकर्षक प्रतिफल

Oct 15, 2017  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

सिद्धार्थ लगानी वृद्धि योजनाको सबैभन्दा बढी ६० प्रतिशत

 काठमाडौं । सर्वसाधारणको रकम सङ्कलन गरेर सूचीकृत धितोपत्र तथा अन्य वित्तीय उपकरणमा लगानी गरिरहेका सामूहिक लगानी कोष (म्युचुअल फण्ड)ले एकाइ धनीहरूलाई आकर्षक प्रतिफल दिइरहेका छन् । दोस्रो बजारमा सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्ने क्रम जारी नै रहँदा सामूहिक लगानी कोषहरूले भने वितरण नै गरिसकेका छन् । नेप्सेमा सूचीकृत ११ सामूहिक लगानी कोषमध्ये ६ ओटाले आर्जित नाफाबाट लाभांश वितरण गरिरहेका छन् । पछिल्लो पटक लाभांश घोषणा गरेको एनएमबी म्युचुअल फण्डअन्तर्गतको ‘एनएमबी सुलभ फण्ड–१’ ले यही असोज ३१ गतेदेखि वितरण गर्ने बताएको छ । बाँकीले डिम्याट खातामा उल्लेख एकाइ धनीको बैङ्कमा लाभांशबापतको रकम पठाइसकेको बताएका छन् । बैङ्क खाता उपलब्ध नभएका एकाइ धनीले पनि लाभांश पुर्जा लिइरहेका छन् । अहिलेसम्म प्रतिफल घोषणा गरेका म्युचुअल फण्डमध्ये सिद्धार्थ लगानी वृद्धि योजनाले सवैभन्दा बढी ६० प्रतिशत नगद लाभांश दिएको छ  । भदौ मसान्तसम्म यस योजनाको कुल रू. ९५ करोड ३१ लाख ८५ हजार विभिन्न धितोपत्रमा लगानी रहेको छ । सो अवधिमा यस योजनाको प्रतिएकाइ खुद सम्पत्ति मूल्य रू. २१ रहेको छ । चालू आवको भदौ मसान्तसम्म सो योजनाले रू. २४ लाख ४४ हजार नाफा कमाएको छ । अहिले सञ्चालित सबै योजनाका एकाइको अङ्कित मूल्य रू. १० रहेको छ । घोषित लाभांशमध्ये एनआईबीएल समृद्धि फण्ड–१ को लाभांश सबैभन्दा कम १८ प्रतिशत रहेको छ । भदौ मसान्तमा प्रतिएकाइ खुद सम्पत्ति मूल्य रू. १२ दशमलव ८९ रहेको यस योजनाले रू. १ अर्ब १४ करोड ८३ लाख ५२ हजार लगानी गरेको छ । चालू आवको भदौ मसान्तसम्म उक्त योजनाले रू. २ करोड ५० लाख ३९ हजार नोक्सान बेहोरेको देखिएको छ । सामूहिक लगानी कोष साना लगानीकर्ताहरूका लागि सबैभन्दा उपयुक्त लगानीका रूपमा लिन सकिन्छ । यस्ता कोषले सर्वसाधारणबाट सङ्कलन गरेको रकम विभिन्न वर्गका धितोपत्रहरूमा विभाजन गरेर लगानी गर्ने हुनाले जोखीमको तुलनामा प्रतिफल उच्च रहने गर्छ । यद्यपि, यस्ता कोषमा गरिएको लगानी पूर्णरूपमा जोखीममुक्त भने हुँदैन । साथै सामूहिक लगानी कोषमा गरिएको लगानीबाट प्राप्त लाभांशमा करसमेत छूट हुने भएकाले सर्वसाधारणमा यसको आकर्षण हुने गर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)