ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा समिति : दाबी भुक्तानी उजुरीको निर्णयमा ढिलाइ

Nov 24, 2017  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । बीमा कम्पनीमा परेको दाबी फछ्र्योटमा बीमित र बीमकबीच विवाद भएपछि बीमा समितिमा परेको उजुरीमध्ये ७५ ओटा अझै निर्णय हुन बाँकी रहेको छ । आर्थिक वर्ष २०७२/७३ बाट जिम्मेवारी सरी आएका ७१ र आव २०७३/७४ मा परेका ५१ गरी कुल मुद्दा सङ्ख्या १ सय २२ मध्ये उक्त सङ्ख्याको उजुरीको निर्णय गर्न बाँकी रहेको हो । फर्छ्योट भएका ४७ उजुरीमध्ये दुवै पक्षको आपसी सहमतिमा टुङ्गिएका २६ र निर्णय भएका २१ रहेका छन् । बीमा कम्पनीसँग गरिएको दाबी भुक्तानीका विषयमा चित्त नबुझेपछि बीमितले बीमा समितिमा उजुरी गर्न पाउने व्यवस्था रहेको छ । समितिमा दाबी भुक्तानीका लागि लामो समयदेखि निवेदन दिएका निवेदकले समितिले निर्णयमा ढिलाइ गरेको गुनासो गरेका छन् । ‘न्यायका लागि समितिमा उजुरी दिएपछि दाबी समयमै पाउनु हाम्रो अधिकार हो । तर, यसो हुन सकेको छैन,’ एक उजुरीकर्ताले भने । उनले खाँचो परेका बेला रकम नपाउँदा समस्यामा परेको गुनासो पनि गरे । बीमा समिति स्रोतले पनि उजुरी दिने निवेदकहरूले उजुरी छिटो सल्टाउन आग्रह गरेको स्वीकारे । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले समितिमा नियुक्ति भएदेखि नयाँ जीवन बीमा कम्पनीका बारेमा निर्णय गर्ने, विभिन्न निर्देशिका जारी गर्ने र कर्मचारी व्यवस्थापनमा अल्झिनु परेकाले दाबी भुक्तानीका लागि परेका उजुरीको निर्णय गर्न नभ्याएको बताए । समितिमा पर्न आएका विविध कामले गर्दा यो विषय ओझेलमा परेको उनले स्वीकारे । ‘अब कर्मचारी व्यवस्थापन गर्ने काम र विश्व बैङ्कसँगको कामलगायत ३/४ ओटा काम पूरा गरिसकेपछि बोर्ड बैठक बसेर उजुरी पर्न आएका मुद्दाबारे निर्णय गर्नेछौं,’ उनले भने । दर्ता भएका दाबी उजुरीबारे निर्णय गर्न थालेपछि १ महीनामा फछ्र्योट गर्ने पनि उनले दाबी गरे । अघिल्लो आर्थिक वर्ष २०७२/७३ देखि गत आवमा परेका कुल उजुरीमध्ये ५३ ओटा भूकम्पसम्बन्धी बीमा दाबीको उजुरी भएको समितिले बताएको छ । त्यसमध्ये १० ओटाको निर्णय भएको र २८ ओटा आपसी सहमतिमा टुङ्गिएको बताइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)