ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मत परिणाम कुर्दै नेता, विकास कुर्दै जनता

Nov 29, 2017  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
मङ्सिर १३, म्याग्दी । आइतवार सम्पन्न पहिलो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतपेटीका सिलबन्दी गरेर बन्द कोठामा कैद गरिएको छ । मतपेटीका भित्र रहेका मतपत्रमा उम्मेदवारहरुको भविष्य पनि तालावन्दी गरेर राखिएको छ । राजनीतिक दल र उम्मेदवारहरु मतपरिणामको पर्खाइमा रहेका छन् । तर, म्याग्दीका जनता भने वर्षौंदेखि विकासको पर्खाइमा छन् । विगतका निर्वाचनहरुमा पनि जनताको समृद्धि र जिल्लाको विकासलाई प्रमुख एजेण्डा बनाउँदै भोट मागेका राजनीतिक दल र तिनका नेताहरुबाट विकासको चाहना पूरा हुन नसकेको गुनासो जनताले गर्दै आएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निकै उत्सुकताका साथ मतदान गरेका म्याग्दीका मतदाताहरु सात महीना वित्न नपाउँदै आफैंले चुनेका जनप्रतिनिधिहरुबाट उपेक्षित हुन थालेपछि निर्वाचन प्रति नै जनताको चासो कम भएको छ । ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखानको शिकार आफूहरु भएको म्याग्देली जनताले गुनासो गरेका छन् । आइतवार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा म्याग्दीबाट करीव ६३ प्रतिशत मत खसेको छ । गत वैशाखमा पहिलो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा करीब ६८ प्रतिशत मत खसेको थियो । बिशेष गरी पूरानै मानसिकताका उम्मेदवारहरु चुनावी प्रतिष्पर्धामा रहनु, राजनीतिक दलहरुप्रति अस्वस्थ प्रतिष्पर्धा हुनु, जनअपेक्षा अनुसार काम हुन नसक्नु जस्ता कारणले जनताको मतदान प्रति अरुचि बढ्दै गएको म्याग्दीका वरिष्ठ साहित्यकार रामप्रसाद सुवेदीले बताए । ‘भौगोलिक रुपमा विकट रहेको म्याग्दी जिल्लाका रघुगङ्गा र धौलागिरि गाउँपालिकाका ६ ओटा वडाहरुमा अझैसम्म मोटरबाटो त परको कुरा राम्रो घोडेटो बाटोसम्मको पहुँच पुगेको छैन । प्राथमिक तहको अध्ययनका लागि तीन घण्टासम्म पैदल हिड्नुपर्ने बाध्यता छ । खोला तथा नदीहरुमा पुल नहुँदा १ घण्टाको दूरीमा रहेको गाउँमा पुग्न पाँच घण्टा लगाएर घुमाउरो बाटो हिड्न जनता बाध्य छन्’, धौलागिरि गाउँपालिका १ गुर्जाका स्थानीय वासिन्दा कमल छन्त्यालले बताए । यस्तो कष्टकर जीवन बिताइरहंदा पनि जनताका लागि राजनीति गर्छौं भन्ने दल र तिनका नेताहरु चुप लागेर बसेको छन्त्यालले बताए । ‘म्याग्दीको कर्णाली’ भनेर चिनिने गुर्जा गाउँ जिल्लाकै अति विकट गाउँ हो । ६ सय ७३ मतदाता र १ हजारभन्दा बढी जनसङ्ख्या रहेको गुर्जामा नेपाली काङ्ग्रेसबाट प्रदेश सभा ‘ख’ का उम्मेदवार अमलाल फगामी बाहेक अन्य कुनै उम्मेदवारहरु मत माग्नका लागि त्यहाँ पुग्न नसकेको स्वयं उम्मेदवारहरुले नै बताएका छन् । यस्ता विकट गाउँहरुको विकासमा राजनीतिक दलहरुको ध्यान पुग्न नसक्दा जनताको विश्वास घटेदै गएको छ । राजनीतिक दल र सरकारी निकायले वेवास्ता गरेपछि जिल्लाका कतिपय गाउँका वासिन्दाहरुले आफ्नै पहलमा मोटरबाटो, खानेपानी र विद्यालय जस्ता खर्चिला योजनाहरु समेत सम्पन्न गरेका उदाहरणहरु म्याग्दीमा छन् । बेनी नगरपालिका वडा नं ३ मा पर्ने भकिम्लीको राखुका महिलाले आफूले लगाएका गहना बैंङ्कमा धितो राखेर सडकका लागि पैसा जुटाएर गाउँसम्म मोटरबाटो पुर्‍याएका छन् । पर्यटन, जलविद्युत, खनिज र वनपैदावरमा प्रशस्त सम्भावनाहरु रहेको म्याग्दी जिल्लाका विकट ग्रामिण वस्तीहरुमा अहिलेसम्म पनि विद्युत सुविधा पुगेको छैन । मोवाइलको नेटवर्कले काम गर्दैन । टुकी र सोलारको भरमा साँझ र रात कटाउने बाध्यता छ । पर्यटकहरुका लागि पदमार्गको त परको कुरा सामान्य वाटो समेत बन्न सकेको छैन् । तामाखानी, स्लेट खानी जस्ता आम्दानीका गतिलो माध्यम वन्न सक्ने स्रोतहरुको उत्खनन् हुन नसक्दा यहाँको विकास पछाडि परेको छ । यस्ता अनगिन्ति समस्याहरुका बिचमा म्याग्देली जनताहरु रहेका भएपनि राजनीतिक दल, नेता र सम्वन्धित निकायले कुनै पहल नगर्दा म्याग्देली जनता मत परिणाममा भन्दा पनि विकासको पर्खाइमा रहेको नेपाल जेसिजका निवर्तमान अध्यक्ष एवम् म्याग्दीका युवा धनञ्जयकुमार श्रेष्ठले बताए । मत परिणामको पखाईमा रहेका उम्मेदवार र दलहरुले विकासको पर्खाइमा रहेका जनताको चाहनालाई पूरा गर्नुपर्ने दायित्व छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)