ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्यानको नीति तथा कार्यक्रम पारित : विमानस्थल निर्माण तथा सुदृढीकरण प्राथमिकतामा

Dec 3, 2017  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । राष्ट्रिय गौरवका आयोजनामा परेका विमानस्थल निर्माणलाई बजेट सुनिश्चित गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालू आर्थिक वर्ष (आव)को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । ती नीति तथा कार्यक्रम सञ्चालनका लागि क्यानले करीब साढे ४३ अर्ब रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरेको छ । चालू आवको पहिलो चौमास सकिएपछि यही मङ्सिर ८ गते क्यान सञ्चालक समितिले कार्यक्रम र बजेट पारित गरेको हो । चालू आवमा क्यानले आफ्नो व्यावसायिक आम्दानी, सरकारबाट प्राप्त हुने ऋण शेयर र अनुदानका साथै बैङ्कमा रहेको नगद र अन्य कोषसहित कुल रू. ४३ अर्ब ६६ करोड ५७ लाख आय प्राप्त गर्ने अनुमान गरेको छ । त्यसैगरी, पूँजीगत, सञ्चालन, साँवा ब्याज भुक्तानी तथा गतवर्षबाट सरी आएका कर बोनसलगायत अन्य दायित्व बेहोर्न रू. ४३ अर्ब ५९ करोड व्यय हुने अनुमान छ । कुल आयव्यय विवरणमा रू. ६ करोड ८८ लाख खुद बचत हुने अनुमान पनि गरिएको छ । कुल अनुमानित खर्चमा रू. ३६ अर्ब १८ करोड प्रत्यक्ष खर्च गर्नेगरी विनियोजन गरेको क्यानले बताएको छ । त्यस्तो प्रत्यक्ष खर्चमा ९० प्रतिशत पूँजीगत बजेट छ भने १० प्रतिशत सञ्चालन खर्च छ । गत आवमा त्यसरी प्रत्यक्ष खर्च गर्नेगरी पारित बजेट रू. ३० अर्ब ८३ करोड थियो । यसमध्ये पूँजीगततर्फ ७१ दशमलव ८ प्रतिशत सञ्चालनतर्फ १ प्रतिशत, वित्तीय व्यवस्थापनतर्फ ९ प्रतिशत र अन्य करीब १८ प्रतिशत रहेको थियो । चालू आवमा कुल प्रत्यक्ष खर्चमध्ये रू. ३२ अर्ब भौतिक संरचना र विमानस्थलजस्ता पूँजी निर्माण हुने परियोजनामा खर्च गर्ने क्यानको लक्ष्य छ । दैनिक कार्य सञ्चालनमा रू. ३ अर्ब ५३ करोड खर्च हुने क्यानको अनुमान छ । बाँकी रकम अन्य दायित्व बेहोर्नमा खर्च व्यवस्था गरिएको छ । विभिन्न कारणले बजेट पारित गर्न ढिला भए पनि कतिपय काम बहुवर्षीय भएकाले काममा अवरोध नहुने क्यानका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । प्राधिकरणले यस वर्ष त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति र धावनमार्ग विस्तारलाई प्राथमिकतामा राखेको महानिर्देशक गौतमले बताए । साथै आन्तरिक हवाई यातायातलाई थप सुरक्षित र सुदृढ बनाउन चन्द्रगढी, जनकपुर, नेपालगञ्ज तथा धनगढी विमानस्थल सुधारमा पनि पर्याप्त बजेट विनियोजन गरिएको छ । उच्च पहाडी भूभागमा रहेका उडान सुरक्षाका दृष्टिले चुनौतीपूर्ण विमानस्थलमा एरोड्रोम फ्लाइट इन्फरमेशन सर्भिसलाई सुदृढीकरण गर्ने पनि क्यानको योजना छ । झापाको चन्द्रगढी र धनगढी विमानस्थललाई रात्रिकालीन उडान र अवतरणयोग्य बनाउन आवश्यक पूर्वाधारसहित स्तरोन्नतिको कामका लागि पनि बजेट विनियोजन भएको गौतमले जानकारी दिए । ललितपुरको भट्टेडाँडमा २ सय न्यूटीकल माइलसम्म कभरेज क्षमतासहित जडान गरिएको ईएन–रुट राडार एमएसएसआर प्रणाली पूर्णरूपमा सञ्चालनमा ल्याउने बताइएको छ । तराई क्षेत्रका चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, नेपालगञ्ज, धनगढी विमानस्थलमा एटीआर–७२ विमान उडान अवतरण गर्नयोग्य बनाउने योजना क्यानको छ । राष्ट्रिय गौरवका आयोजना एकद्वार प्रणालीमार्फत क्यानले राष्ट्रिय गौरवका आयोजनाहरू गौतमबुद्ध, पोखरा र निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणलाई दु्रत गतिमा बढाउन एकद्वार प्रणाली लागू गर्ने बताएको छ । राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न र काममा आइपर्ने बाधाहरू छिटो समाधान गर्न एकद्वार प्रणाली कार्यान्वयनको संयन्त्र विकास गर्न लागिएको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए । यस्तै त्रिभुवन विमानस्थलको गुरुयोजना पुनरवलोकन गरी कार्यान्वयन गर्ने प्राधिकरणको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)