मङ्सिर १८, रुकुम । गुरिल्ला पदमार्गमा पर्यटकको आगमन बढेको छ । १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा गुरिल्ला हिड्ने बाटोमा पर्यटकको आगमन बढेको हो । केही समय अघिसम्म सुनसान देखिने गुरिल्ला पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेको स्थानीयले बताएका छन् । त्रिवेणी गाउँपालिका ८ खाराका स्थानीयबासी भिमबहादुर खड्काका अनुसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन वढेको छ । दैनिक जसो दर्जनभन्दा बढी पर्यटक गुरिल्ला पदमार्गमा हिड्ने गरेको उनले बताए ।
रुकुम, म्यादी, वाग्लुङ र रोल्पा जिल्लालाई समेटर गुरिल्ला पदमार्ग निर्माण गरिएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले १० वर्षे माओवादी जनयुद्ध प्रभावित क्षेत्रलाई समेटेर गुरिल्ला पदमार्ग निमार्ण गरिएको हो । सरकार र तत्कालीन माओवादी द्वन्द्वका कारण प्रख्यात बनेका रुकुम, रोल्पा, म्याग्दी बागलुङलगायतका जिल्लाका ग्रामीण बस्तीहरूलाई लक्षीत गरेर नेपाल पर्यटन बोर्ड, प्रकृति संरक्षण कोष र जिल्ला समन्वय समिति रुकुमको पहलमा गुरिल्ला पदमार्ग नाम सहित नयाँ रुट तयार गरेपछि द्वन्द्वग्रस्त क्षेत्रमा पर्यटकको आगमण बढेको स्थानीयले बताएका छन् ।
द्वन्द्वबाट प्रभावित क्षेत्रका बासिन्दाको आर्थिक स्तर उकास्न र विदेशी पर्यटनलाई युद्धकालिन दिनचर्या, बिटक बस्तीको जनजीवन र मगर संस्कृतिको अनुभव दिलाउन गुरिल्ला पदमार्ग नामक नयाँ रुट तयार गरिएको जिल्ला पर्यटन बोर्डका अध्यक्ष तथा स्थानीय समन्वय अधिकारी माधवप्रसाद शर्माले जानकारी दिएका छन् । उनले भने, ‘द्वन्द्वकालमा गुरिल्ला हिड्ने बाटोमा पर्यटको आगमन बढेको छ ।’
गुरिल्ला पदमार्गमा म्याग्दीको पश्चिम व्यापारी केन्द्र दरवाङ, ताकम, धारापानी, मुना हुँदै बागलुङ सिमाना, ढोरपाटन सिकार आरक्षण हुँदै रुकुम जिल्लाको तकसेरा, सिस्नेहिमाल, चुनवाङ हुँदै रोल्पाको सुलिचौरसम्म रहेको छ ।’ पदमार्गमा अधिकांश मगर बस्ती रहेका छन् । मगर र अन्य समुदायको संस्कृति, प्राकृतिक सम्पदा, हिमश्रृङ्खला, ग्रामीण जीवनशैली, स्थानियबासीको द्वन्द्वकालको अनुभव पदमार्गको मुख्य आर्कषण रहेको छ । रुटका अधिकांश क्षेत्र तत्कालिन माओवादीको सेल्टर मानिन्छ ।
गुरिल्ला पदमार्गको स्थापना भएपछि द्वन्द्वबाट पीडित जनताहरूले आफनो दिनचर्या विदेशी तथा स्वदेशी पाहुनाहरूसगँ साट्न पाउने भएका हुन । द्वन्द्वको घाउमा मलम लगाउन सरकारले स्थापना गरेको गुरिल्ला पदमार्गले स्थानियबासीलाई शान्तिको आभास हुने त्रिवेणी गाउँपालिका–८ खाराका भिमे ओलीले जानकारी दिए । उनि भन्छन्, ‘लडाकु हिड्ने बाटोमा पर्यटक हिड्न थालेका छन् ।’ गुरिल्ला पदमार्गको स्थापना भएपनि यस क्षेत्रका स्थानियबासीलाई यसको महत्वको बारेमा खासै जानकारी नभएको बुढाले बताए । यसको लागि सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी छ । स्थानीयबासीलाई यसको महत्वको बारेमा तालिम, पर्यटन संस्कार र सीपको विकासका साथै गाँउगाँउमा होमस्टेको अवधारणाको विकास गनुपर्ने देखिन्छ ।
समय अनुकूल २७, १९ र १४ दिनका तिनवटा प्याकेजमा गुरिल्ला पदमार्गमा भ्रमण गर्न सकिन्छ । ग्रामीण पर्यटनको सम्भावना भएको यो पदमार्गको प्रचार– प्रसारको लागि नक्सा र गाईड बुक तयार गरिएको छ ।
गुरिल्ला पदयात्राको क्रममा हिमाल, जङ्गल, नदि, छहरा, ग्रामीण बस्ती, जङ्गली जनावर र पन्क्षीको अवलोकन गर्न सकिन्छ । पदयात्रामा धौलागिरी, सिस्ने हिमाल, अन्नपुर्ण, चुरे क्षेत्र, पुथालगायतका हिमाल हेर्न पाईन्छ ।
नेपालको एक मात्र सिकार आरक्षण ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने ४ हजार ६० मिटरको उचाईमा रहेको फागुने लेक समेत गुरिल्ला पदमार्गमा समेटिएको छ । पदयात्राको क्रममा ढोरपाटन सिकार आरक्षण हुँदै जानुपर्ने भएकाले नाउर, घोरल, झारल, हिमचितुवा, डाँफेलगायतका पशुपन्क्षी हेर्न पाईन्छ । यसैगरी देशमा चलेको १२ वर्षे सशस्त्र द्वन्द्वले ग्रामीण बस्तीमा पारेको प्रभाव र असरहरूलाई नियाल्न पाईन्छ । रुकुम र सल्यानको बीचमा पर्ने खोला बजारबाट शुरु हुने यस पदयात्रामा द्वन्द्वका डामहरू अवलोकन गदै स्थानीयको भोगाईहरूलाई बुझ्न सकिने भएकाले यो पदयात्रा रमाईलो र रमणीय पदयात्रा भएको वुद्धीजिवीको भनाई छ ।