मङ्सिर २४, रुकुम । आर्थिक रुपमा विपन्न विद्यार्थीहरूलाई सोलार बत्ति वितरण गरिएको छ । पूर्वी रुकुमको रुकुमकोटमा रहेको रुक्मिणी माध्यमिक विद्यालयका ८१ जना विद्यार्थीहरूलाई सोलार बत्ति वितरण गरिएको हो ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ३ लाख २ हजार ९ सय ४० रूपैयाँको आर्थिक सहयोगमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई सोलार बत्ती वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमले बताए । उनले भने, ‘कक्षा ९ र १० मा अध्ययनरत २ सय ५ जना विद्यार्थीमध्ये ८१ जना छनौट गरिएको हो ।’ आर्थिक रुपमा विपन्न, दलित, अपाङ्ग, पिछडीएको क्षेत्रबाट ५२ जना छात्रा र २९ जना छात्रलाई सोलार बत्ति निःशुल्क वितरण गरिएको उनले बताए ।
विद्युतको पहुँच नभएका र लोडसेडिङको चर्कोमार खेप्दै आएका ग्रामीण क्षेत्रका विद्यार्थीहरूको पढाईस्तर वृद्धि गर्ने उद्देश्यले सोलार बत्ति वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन शाहले जनाए । उनले भने, ‘विद्यार्थीहरूले एसईई परीक्षामा राम्रो नतिजा प्राप्त गरुन् भन्ने लक्ष्यका साथ १० वाट क्षमताको सोलार बत्ति वितरण गरिएको छ । सोलार बत्ति पाएपछि विद्यार्थीहरू खुसी भएका छन् ।’
कक्षा १० मा अध्ययनरत छात्रा कल्पना विकले भनिन, ‘घरमा बत्ति नहुदा पढाईमा समस्या भएको थियो, विद्यालयको पहलमा सोलार बत्ति पाउँदा खुसी भएको छु ।’