ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समाचार तत्काल सत्ता छोड्न देउवालाई ओली र दाहालको सुझाव

Dec 18, 2017  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । वाम गठबन्धनका प्रमुख नेताले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल सत्ता हस्तान्तरण गरेर नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका छन् । उनीहरूले प्रधानमन्त्री देउवालाई जनमतको अवमूल्यन नगर्न आग्रह गर्दै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र व्यवहार असंवैधानिक भएको आरोपसमेत लगाएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतवार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै निर्वाचन परिणाम आइसक्दा पनि सत्तामा बसिरहनु र दूरगामी महत्त्वका निर्णय गर्नु गलत भएको टिप्पणी गरे । एमाले अध्यक्ष ओलीले कामचलाउ भइसकेको सरकारले दूरगामी महत्त्वका निर्णय गर्नु र संविधानमै नभएको व्यवस्थाअनुरूपको अध्यादेश बनाएर पारित गर्न राष्ट्रपतिलाई दबाब दिनु असंवैधानिक भएको बताए । उनले भने, ‘यो सरकारको काम सत्ता हस्तान्तरण गर्ने मात्र हो । सरकारले अध्यादेश दियो भन्दैमा राष्ट्रपतिले जारी गर्नुपर्छ भन्ने छैन ।’ ओलीले राष्ट्रिय महत्त्वकै विषय भएको भए अन्य दलको परामर्श लिनुपर्ने बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार राजनीतिक दलबीच सहमति नगरी एकल ढङ्गले अघि बढ्न खोजेको आरोप लगाउँदै आफूहरूको ध्यान सत्ताभन्दा पनि राजनीतिक स्थिरता, सुशासन र समृद्धितर्फ भएको बताए । उनले भने, ‘देउवा सरकारले चुनाव गराएर स्याबासी पाएको छ । अब नयाँ जनमत आइसकेको समयमा एक/दुई नियुक्तिजस्ता विषयमा लोभ नगर्न सरकारलाई सुझाव दिन चाहन्छु ।’ दाहालले राष्ट्रियसभाका बारेमा उठेको प्रश्नका विषयमा प्रधानमन्त्रीसँग छलफल भएको उल्लेख गर्दै संविधानमा एकल सङ्क्रमणीयको व्यवस्था नभएको बताए । उनले भने, ‘हाम्रो संविधानले अहिले राष्ट्रियसभाका सदस्यहरूको निर्वाचन गर्ने खाली प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरू मात्र होइन, गाउँपालिका र नगरपालिका सदस्यहरूको मतभार फरकफरक गर्ने कुरा पनि गरेको छ । संविधानले एकल सङ्क्रमणीय भन्ने व्यवस्था गरेको छैन ।’ अध्यक्ष बन्नकै लागि पार्टी एकता हुँदैन पार्टी एकताको विषयमा दुवै पार्टीका नेताले छिट्टै पार्टी एकता हुने बताए । ओलीले पार्टी अध्यक्ष हुनकै लागि पार्टी एकता गर्न नलागिएको प्रतिक्रिया दिए । उनले भने, ‘अध्यक्ष नै हुनका लागि म एमालेको अध्यक्ष छँदै छु । प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष हुँदै हुनुहुन्छ ।’ यस्तै, दाहालले दुवै जना प्रधानमन्त्री भइसकेकाले आफूहरूको ध्यान प्रधानमन्त्री बन्नेतर्फ पनि नभएको बताए । उनले भने, ‘ओलीजीले अध्यक्ष छँदै छौं भन्नुभयो, हामी दुवै जना प्रधानमन्त्री भएका र सहजरूपमा प्रधानमन्त्री त्यागेका नेता पनि हौं ।’ पत्रकार सम्मेलनमा वितरित संयुक्त प्रेस विज्ञप्तिमा वाम गठबन्धन सङ्क्रमणकालको अन्त्य गरी लोकतन्त्रमार्फत आर्थिक समृद्धि प्राप्त गर्न प्रतिबद्ध रहेको तथा छिमेकी मुलुक र अन्तरराष्ट्रिय समुदायसँग सन्तुलित सम्बन्ध कायम गरेर अगाडि बढ्ने उल्लेख छ । विज्ञप्तिमा एमाले, माओवादीसमेत वामपन्थी शक्तिको नेतृत्वमा स्थिर सरकार निर्माण गर्न र निर्वाचनका क्रममा प्रस्तुत गरिएको केन्द्रीय घोषणापत्र तथा स्थानीय प्रतिबद्धताको कार्यान्वयन गर्दै जनता र राष्ट्रको सेवामा समर्पित हुन प्रतिबद्ध रहेको उल्लेख छ । यस्तै, विज्ञप्तिमा राष्ट्रको समृद्धिका लागि प्रतिपक्षबाट रचनात्मक भूमिकाको अपेक्षा गरिएको बताइएको छ । सम्मेलनमा एमाले नेता झलनाथ खनाल, वामदेव गौतम तथा माओवादी नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत नेताको सहभागिता रहेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)