धनगढी । नेपाल–भारत सीमासम्बन्धी संयुक्त फिल्ड अनुगमन गरिने भएको छ । ७ नं. प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलामा संयुक्त फिल्ड अनुगमनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति गठन गरिएको हो । २०७४ मङ्सिर २९ गतेदेखि लागू हुने गरी टोली नं. ४ को टोली नेताको रूपमा सुदर्शन सिंह धामीलाई चयन गरिएको छ ।
फिल्ड अनुगमनका लागि नापी कार्यालयका काशीलाल चौधरी, स्थलरूप नापी महाशाखाका पूर्णबहादुर खड्का, नापी कार्यालय डोटीका महादेव भट्ट, स्थलरूप नापी महाशाखाका विकेश शङ्खदेव सदस्य रहेका छन् । भारतको देहरादुनमा २०७४ भदौमा सम्पन्न नापी कार्यालयको सातौं बैठकले तय गरेबमोजिमको कार्यक्रमअनुसार सीमा अनुगमनको काम शुरू गरिएको धामीले बताए ।
उनका अनुसार तत्कालीन कैलालीस्थित खक्रौला सीमास्तम्भ नं. साबिकको ९८ हालको ७०० पिलर नम्बरबाट काम शुरू गरी कञ्चनपुरको ब्रह्मदेवमा अवस्थित पिलर नं. ८११ को अध्ययन, अनुगमन तथा आवश्यक परे मर्मतसम्भारसमेतको काम गर्न टोली गठन गरिएको हो ।
नेपालबाट खटिएको टोलीसँगै नेपाल भारत सीमा संयुक्त फिल्ड कार्यका लागि भारतको सर्वे अफ इण्डियाको टोलीसमेत सँगसँगै रहने उनले बताए । ७ नं. प्रदेशका पाँच जिल्लामा जङ्गेपिलर तथा सहायक पिलरहरूको वर्तमान अवस्थाको विषयमा अध्ययन अनुसन्धान र सामान्य मर्मतसम्भारको अख्तियारी आएकाले नदीले धार परिवर्तन गरी सीमास्तम्भ तलमाथि परेको तथा विवादित स्थानहरूमा भने माथिल्लो निकायले पहल गर्ने हुँदा फिल्ड अनुगमनका क्रममा खासै समस्या नआउने टोली नेता धामीले बताए । विशेष गरी कैलाली तथा कञ्चनपुरसँग सीमा जोडिएका क्षेत्रहरूमा केही वर्षयता सीमासम्बन्धी विवाद बढ्दै जानु, सीमा क्षेत्रमा बसोबास गर्दै आएका नेपाली नागरिकले वर्षौंदेखि उपभोग गर्दै आएको भूमि भारतीय अतिक्रमणमा परेको, सीमास्तम्भ नेपालतर्फ बढाउँदै गरेकोलगायत गुनासा बढ्दै गएपछि लामो समयपछि सीमा स्तम्भहरूको अध्ययनका लागि टोली परिचालन गरिएको हो । टोलीका सदस्य काशीलाल चौधरीले नेपाली भूमि के कति हो, त्यो सबै नक्सा अर्थात् प्रमाण हामीसँग सुरक्षित रहेकाले नेपाली भूमि कुनै पनि हालतमा नगुम्ने बताए ।