ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७ नम्बर प्रदेशबाट ७० हजारले गरे हवाई यात्रा, धनगढी विमानस्थललाई साढे ५५ लाख आम्दानी

Jan 7, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
पुस २३, धनगढी । सरकारी तथा निजी हवाई विमान कम्पनीहरूले धनगढी–काठमाडौं दैनिक उडान शुरु गरेपछि प्रदेश नम्वर ७ (साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र)बाट हवाई यात्रा गर्ने यात्रुहरूको सङ्ख्या ह्वात्तै बढेको छ । चालु आवको पाँच महीनामा मात्रै झण्डै ७० हजार यात्रुले धनगढी विमानस्थल प्रयोग गरी विभिन्न हवाई कम्पनीका जहाजहरूमा यात्रा गरेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ । बुद्ध र नेपाल एयरलाइन्सले धनगढी–काठमाडौं दैनिक उडान भर्दै आएकोमा फागुनयता सौर्य, श्रीएयरलाइन्सले पनि दैनिक धनगढी–काठमाण्डौं उडान शुरु गरेपछि यो प्रदेशबाट हवाई यात्रा गर्नेको सङ्ख्या बढ्दै गएको धनगढी विमानस्थल कार्यालयका प्रमुख छविसिंह ठकुल्लाले बताए । दैनिक पाँच उडान हुने धनगढी–काठमाडौंको रुटमा पाँच महीनाको अवधिमा २७ हजार ७ सय ५८ जनाले टिकट काटेर यात्रा गरेको कार्यालयको तथ्याङ्क छ । दुईवर्षमुनिका बालबालिका एवम् विद्यार्थीलाई नजोडेरै उक्त सङ्ख्यामा टिकट खरीद भएको हो । ‘सबै उमेर समूहका गरी ५ महीनाको अवधिमा झण्डै ७० हजार यात्रुले हवाई यात्रा गरेको देखिन्छ’, प्रमुख ठकुल्लाले भने । आम्दानीको हिसाबले नेपालमा नवौं स्थानमा पर्न सफल धनगढी विमानस्थल कार्यालयले पाँच महीनामा एयरपोर्ट ट्याक्स बापत ५५ लाख ५१ हजार ४ सय ६४ रुपैयाँ आम्दानी गरेको प्रमुख ठकुल्लाले बताए । आर्थिक वर्ष २०७२/०७३ मा धनगढी विमानस्थल कार्यालयले एयरपोर्ट ट्याक्स, होर्डिङ बोर्ड शूल्क, काउण्टर शूल्क, इन्धनलगायतबाट ६५ लाख रुपैयाँ आम्दानी गर्न सकेकोमा गत आर्थिक वर्ष २०७३÷०७४ मा एयरपोर्ट ट्याक्सबापत मात्रै झण्डै १ करोड १७ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको तथ्याङ्क छ । नेपाल एयरलाइन्ससँगै निजी हवाई विमान कम्पनीहरूले धनगढी–काठमाण्डौं दैनिक उडान बढाउँदै गएपछि टिकट दरमा देखिएको प्रतिस्पर्धा तथा सस्तो टिकटदरका कारण हवाई यात्रा गर्नेहरूको सङ्ख्या बढ्दै गएको हो । धनगढी विमानस्थल ७ नम्वर प्रदेशको एकमात्र चालु अवस्थामा रहेकोले पनि धनगढीबाट हवाई यात्रा गर्नेहरूको सङ्ख्या बढ्न गएको पर्यटन व्यवसायीहरूको भनाई छ । धनगढी–काठमाण्डौं दैनिक उडान भर्ने विमान कम्पनीहरूको सङ्ख्या क्रमिक रुपले बढ्दै गएपछि कैलाली र कञ्चनपुरमा दर्जनौ टुर एण्ड ट्राभल्स कम्पनी खुलेका छन् भने कतिपय खुल्ने क्रममा छन् । बाक्लो हुस्सु, तुवालो र रात्रीकालीन उडानमा समेत सहज हुने विमानस्थलमा डीएमई–भीओआर उपकरण जडान हुने हो भने हवाई यात्रा गर्ने यात्रुको सङ्ख्या दोब्बरले बढाउन सकिने अधिकारीहरू बताउँछन् । अहिले पाइलटको आँखाको भरमा धनगढी विमानस्थलमा जहाज अवतरण गराउनुपर्ने वाध्यताका कारण बाक्लो हुँस्सु र तुवालो लागेका बेला जहाजको सहज अवतरणमा समस्या देखिएको छ । यसले विमानस्थलको आम्दानीमा त कमि आउँछ नै साथसाथै हवाई विमान कम्पनीहरूले पनि व्यावसायिक रुपमा मुनाफा आर्जन गर्न नसक्ने  ट्राभल्स कम्पनीहरूको व्यवसाय पनि प्रभावित हुने अवस्था आउने भएकाले डीएमई–भीओआर उपकरण जडान अपरिहार्य भएको विमानस्थल कार्यालयको भनाई छ । जाइकाले उपकरण जडानका लागि यसअघि नै माटो तथा जमिनको परीक्षण गरीसकेकाले साढे १७ विगाहा पुरै जमिन धनगढी विमानस्थलको नाममा नामसारी हुने वित्तिकै उपकरण जडानको काम शुरु गरिने विमानस्थल प्रमुख ठकुल्लाले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)