ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा टिम्मुरको माग बढ्यो, उत्पादन घट्यो

Jan 8, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
पुस २४, म्याग्दी । म्याग्दीमा यसवर्ष टिम्मुरको उत्पादन घटेको छ । फूल फुलेर फल लाग्ने समयमा पानी र असिनाले क्षति पुर्‍याएपछि टिम्मुरको उत्पादन घटेको कृषकहरूले बताएका छन् । स्वदेश तथा विदेशबाट टिम्मुरको माग बढेपनि उत्पादन घटेपछि कृषक निराश भएका छन् । अन्य अन्नबाली छोडेर खेतबारी, निजी तथा सामुदायिक वनमा समेत टिम्मुर खेती गरिएको भएता पनि असिनाले बोट नै रित्तो वनाइदिएपछि माग अनुसार निर्यात गर्न नसकिएको भुमेसिद्ध टिम्मुर कृषक समूहका अध्यक्ष सागर बानियाँले बताए । ‘असिना पानीले कृषकको मेहनत खेर गयो, विदेशबाट आएको अर्डर समेत पु¥याउन सकिएन’ बानियाँले भने । उनले गतबर्ष २ हजार केजी अर्थात् करीब रू. ३२ लाखको टिम्मुर विक्री गरेका थिए । टिम्मुर प्रतिकेजी रू. १६ सयदेखि २ हजारसम्म गाउँबाटै विक्री हुने गरेको छ । यसबर्ष मुस्ताङबाट १५ सय केजी र यूरोपबाट ४ सय केजीको माग आएको बानियाँले बताए । आधा दशक अगाडिसम्म कौडीको मूल्यमा विक्री हुने टिम्मुरको स्वदेश तथा विदेशबाट अत्याधिक माग हुन थालेपछि टिम्मुर खेतीमा आकर्षित भएका म्याग्दीका किसानहरूले एकल तथा सामूहिक रुपमा हरेक वर्ष टिम्मुर खेती विस्तार गरिरहेका छन् । जिल्लामा सबैभन्दा धेरै टिम्मुर उत्पादन हुने गाउँको रुपमा समेत चिनिएको तोरिपानीका कृषकले असोज र कात्तिक महीनामा टिम्मुरको फल टिप्ने गर्छन् । म्याग्दीका गाउँमा फलेको टिम्मुर स्वादिलो हुने भएकाले पनि व्यापारी मूल्यमा बार्गेनिङ गर्न गाउँमै पुग्ने गरेका छन् । गाउँका अगुवा कृषकले प्रतिकेजी १६ सय रुपैयाँमा खरीद गर्ने निर्णय गरेपनि बाहिरबाट गएका व्यापारीले प्रतिकेजी २ हजार दिएपछि लुकिछिपी समेत विक्री भएको अगुवा कृषक बानियाँको भनाई छ । म्याग्दीमा १९ वटा समूह गठन गरी टिम्मुर खेती विस्तार भइरहेको छ । सामुदायिक वनमा रहेको टिम्मुर आर्थिक अवस्था कमजोर भएका र एकल महिलाले सङ्कलन गरेर विक्री गर्ने गरेका छन । करीब १ सय ५० घरधुरीले टिम्मुर खेती गरेको अगुवा कृषक गुमानसिंह बानियाँले बताए । ‘खेतबारीमा टिम्मुरको उत्पादन घटेपछि वनजङ्गलबाट समेत टिपेर विक्री गरेका छौं’ बानियाँले भने । एकल महिला र विपन्नलाई वनजङ्गलमा फलेको टिम्मुर टिप्न छुट गरिएको छ’ उनले भने । वार्षिक टिम्मुरको विरुवा विक्री समेत गर्ने गरेका बानियाँले अनुकुल मौसम भएमा गाउँबाट माग अनुसारको निकासीमा कुनै समस्या नभएको बताए । गाउँबाट वार्षिक ६ हजारको हाराहारीमा विरूवा समेत जिल्ला बाहिर विक्री हुने गरेको छ । एक कृषकले ६ केजीदेखि माथि उत्पादन गर्दै आइरहेका छन् । जिल्ला वन कार्यालय, म्याग्दी, उद्योग वाणिज्य सङ्घ लगाएतका संघसंस्थाको पहलमा प्राविधिक तालिम लिएर स्थापना गरिएको नर्सरीबाट २५ रुपैयाँमा प्रति विरूवा विक्री हुने गरेको छ । तोरीपानीमा सागर बानियाँ, गुमानसिंह बानियाँ, नर बहादुर राई, चिन बहादुर नेपाली, बेलमति विक, श्याम बहादुर खड्का धेरै टिम्मुर विक्री गर्ने कृषकमा पर्छन् । टिम्मुर खेतीलाई प्रोत्साहन गर्न म्याग्दी उद्योग वाणिज्य सङ्घले समेत विभिन्न किसिमका औजार सहित तालिम समेत सहयोग गर्ने गरेको छ । सङ्घले एक गाउँ एक उत्पादन अन्तरगत तोरीपानी सहित विभिन्न गाउँमा १९ हजार ५ सय विरुवा सहित प्राविधिक सहयोग गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताए । ‘बजारको खोजीमा समेत सहयोग गरेका छाँ, टिम्मुरको बजार फराकिलो भएको छ’ शाक्यले भने । उनले वाणिज्य मन्त्रालय अन्तरगत रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँग समेत सहकार्य गरी विरुवा सहयोगका साथै निकासीमा सघाउन गाउँमै कार्यक्रम गरिएको बताए । दुईवर्ष अगाडी देविभक्त रिजालको एउटै बोटबाट १८ केजी टिम्मुर उत्पादन भएको थियो । एउटै बोटबाट रिजालले ३० हजार रुपैयाँ आम्दानी गरेपछि गाउँलेले प्रमुख आम्दानीको माध्यम टिम्मुर बनाउने गरी खेती विस्तार गरेका छन् । यसैबीच जिल्लामा पहिलोपटक कृषकले टिम्मुरको प्रशोधन गर्ने औजार समेत ल्याएका छन् । तोरिपानीका निलपहरा सामुदायिक वन उपभोक्ता समूहले टिम्मुर सुकाउने, प्रशोधन गर्ने, तौलने, मसला बनाउने औजारको प्रयोग गर्न वन कार्यालयको रू. १० लाख अनुदानमा औजार खरीद गरेको छ । प्रशोधन औजारको प्रयोगसँगै गाउँमै मसला बनाई बजारमा विक्री गर्न, मिसावट रोक्न, गाउँकै ब्राण्डलाई स्थापित गर्न, धेरै मूल्य पार्न सहज भएको कृषक समूहले बताएको छ । पुस २८ गतेदेखि शुरु हुने म्याग्दी महोत्सवमा समेत टिम्मुरको स्टलमा राखेर विक्री गर्ने गरी औजारबाट मसला बनाउन कृषक जुटेका छन् । टिम्मुर टिप्ने औजारदेखि प्रशोधन मेसिन समेत गाउँमै पुगेपछि जोखिम मोलेर टिप्ने क्रममा रुखको हाँगोनै काट्नुपर्ने अवस्थाको अन्त्य भएको जिल्ला वन कार्यालयले बताएको छ । कार्यालयले प्राविधिक सहयोग बढाएको भन्दै सहायक वन अधिकृत एवम् टिम्मुर विज्ञ चन्द्रमणी सापकोटाले आधुनिक औजारको प्रयोगले उत्पादन बढ्नुका साथै समय पनि व्यवस्थापन भएको बताए । उनका अनुसार बेनी नगरपालिका, मङ्गला, मालिका, धौलागिरि गाउँपालिकामा टिम्मुर खेतीको सम्भावना रहेको छ । टिम्मुर कृषकलाई उपयोगी हुने पुस्तक समेत बजारमा ल्याएका सापकोटाले जिल्लामा वार्षिक करीब ३ हजार केजी टिम्मुर उत्पादनको सम्भावना रहेको बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)