ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतका रिठ्ठाको माग जर्मनीमा

Jan 8, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
पुस २४, सुर्खेत । सुर्खेतमा उत्पादित गुणस्तरीय रिठ्ठाको माग जर्मनीमा बढ्दो छ । गुणस्तरीय रिठ्ठा उत्पादनका लागि जिल्लाको हावापानी उपयुक्त भएकाले जिल्लामा उत्पादित रिठ्ठाको माग जर्मनीमा उच्च भएको हो । विदेशमा माग बढेपछि खेर गइरहेको रिठ्ठाले अहिले सुुर्खेतका गाउँघरमा निकै महत्व पाएको छ । उत्पादनको तुलनामा माग बढी भएका कारण सुर्खेतमा किसानले रिठ्ठाको व्यावसायिक खेती गर्न थालेका छन् । जङ्गलमा त्यतिकै खेर जाने गरेको रिठ्ठा विदेशबाट पैसा भित्र्याउने स्रोत भएकाले किसान त्यसप्रति थप आकर्षित भएका हुन् । माग बढदै गएकाले वन, जङ्गल र खेतबारीमा त्यसै खेरगइरहेको रिठ्ठाबाट अहिले किसानले मनग्य आम्दानी गर्न थालेका छन् । यहाँ उत्पादित रिठ्ठा भारतको नयाँदिल्ली, कोलकत्ता हुँदै जर्मनीमा निकासी हुने गरेको छ । जिल्लाको पश्चिमका लगाम, बेतान, विजौरा, गुटु, विद्यापुर, बाबियाचौर, सालकोट, पोखरीकाँडा, कुनाथरी गाविस र पूर्वका घोरेटा, काफलकोट, बजेडिचौर तथा जाजरकोट जिल्लाको सीमा, कार्कीगाउँ, थाला, जुँगाथापाचौरलगायतका गाविसमा जडीबुटीसँग सम्बन्धित व्यक्तिले किसानले सङ्कलन गरी ल्याएको रिठ्ठा न्यून मूल्यमा खरीद गरी बाहिरका व्यापारीलाई विक्री र विदेश निर्यात गर्दै आएका छन् । जिल्लामा वार्षिक ९० मेट्रिक टन रिठ्ठा उत्पादन हुने गरेको जिल्ला वन कार्यालय सुर्खेतले बताएको छ । रिठ्ठाको व्यावसायिक उत्पादनमा कृषकलाई आकर्षित गर्न कार्यालयले प्रतिवर्ष ३० देखि ४० हजार रिठ्ठाका बेर्ना निःशुल्क वितरण गर्दै आएको जिल्ला वन अधिकृत हेमराज विष्टले जानकारी दिए । उनले भने, ‘सरकारले नै महत्वका साथ १० ओटा विरुवा मध्ये रिठ्ठालाई पनि राखेकाले हरेक वर्ष कृषकलाई व्यावसायिक उत्पादन प्रोत्साहन गर्नका लागि निःशुल्क बेर्ना वितरण गरिरहेका छौं ।’ उनले रिठ्ठा घासमा समेत काम आउने भएकाले राष्ट्रिय वन, सामुदायिक वनका साथै कृषकका घरखेतमा समेत उत्तिकै रहेको बताए । उनका अनुसार जिल्लाका राष्ट्रिय वनबाट मात्र बार्षिक ४० मेट्रिक टन रिठ्ठा उत्पादन हुने गरेको छ । यसैगरी सामुदायिक वन र कृषकका खेतबारी गरी वार्षिक ५० मेट्रिक टन रिठ्ठा उत्पादन हुने गरेको उनको भनाइ छ । गतवर्ष सुर्खेतमा करीब ९० मेट्रिक टन रिठ्ठा व्यापारीले नयाँदिल्ली, कोलकत्ता हुँदै जर्मनीसम्म निर्यात गरेको स्थानीय व्यापारीले बताएका छन् । रिठ्ठा गुणस्तरीय स्याम्पु र साबुन बनाउने कच्चा पदार्थ भएकाले विदेशमा यसको निकै ठूलो माग रहेको जडिबुटी व्यवसायीहरूको भनाइ छ । पूर्वी र पश्चिम सुर्खेतका चार दर्जनका साथै छिमेकी जिल्ला दैलेख र जाजरकोट आसपास गाविसका कृषकले समेत सुर्खेतमै आएर विक्री गर्ने गरेको जडिबुटी व्यवसायी रेशम खड्काले बताए । उनले रिठ्ठाको उत्पादन, सङ्कलन, प्रवर्द्धन गर्न सरकारले नै विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे । उनका अनुसार विदेशबाट जति माग आउँछ त्यो अनुसारको आपूर्ति हुन सकेको छैन् । कार्यालयका सहायक वन अधिकृत रामगणेश साहले जिल्लाको हावापानी उत्पादनका लागि उपयुक्त भएकाले जिल्लाको गुणस्तरीय रिठ्ठाको माग स्वदेशसँगै विदेशमा समेत रहेको बताए । उनले रिठ्ठाका बेर्ना एक पटक रोपेपछि तीन/चार वर्षभित्रै प्रतिफल दिने भएकाले कृषक यसप्रति आकर्षित भएको जनाए । किसानले सङ्कलन गरेको रिठ्ठा प्रतिकेजी ५० देखि ७५ रुपैयाँका दरले विक्री हुने गरेको कृषक बताउँछन् । कृषकले कम मेहनतमै राम्रो आम्दानी गर्ने भएकाले यसतर्फ सबैको आकर्षण बढेको गुटुका कृषक रामलाल बयकले बताए । उनले जिल्लाका सुदूर गाउँसम्म सडकको विस्तार हुन सके रिठ्ठाको उत्पादनसँगै व्यापारमा समेत वृद्धि हुने जनाए । ‘पर्याप्त प्रचारप्रसारको अभावमा अहिले पनि धेरै रिठ्ठाहरू जङ्गलमा त्यतिकै खेल जाने गरेको छ, उनले भने, ‘एकपटक विरुवा रोपेर हुर्काएपछि २० वर्षसम्म निरन्तर फलिरहन्छ ।’ उनले गाईभैसी एवम् बाख्रालाई घास पनि हुने हुँदा रिठ्ठाखेती गर्न कुनै समस्या नरहेको बताए । उनकाअनुसार जति ठूलो रुख हुन्छ, त्यति नै धेरै रिठ्ठा फल्ने गर्दछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)