एमबीबीएस परीक्षाको प्रश्नपत्र आउट गर्न संलग्न रहेका ६ जनालाई जरीवाना सहित जेल सजाय
Jan 11, 2018
 
समाचार
पुस २७, काठमाडौं । विशेष अदालतले गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डेलगायतलाई बुधवार कैद तथा जरीवाना गरेको छ । एमबीबीएस परीक्षाको प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक गरी रकम लिएको कार्य भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरू द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलाशले सजाय सुनाएको हो ।
शिक्षा मन्त्रालयले २०७१ मा लिएको एमबीबीएस परीक्षाको प्रश्नपत्र अन्य व्यक्तिसँग मिली निर्देशक पाण्डेले परीक्षाअघि नै सार्वजनिक गरेको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले निर्देशक पाण्डेलाई ९ महीना कैद र ५ लाख ५ हजार रुपैयाँ जरीवाना हुने ठहर गरेको छ । सो अभियोग लागेका प्रभातकुमार कुशवाहलाई ४ वर्ष कैद र ३४ लाख, महेश्वर यादवलाई २ वर्ष कैद र १७ लाख, धर्मेन्द्र यादवलाई १ वर्ष कैद र ९ लाख जरीवाना गर्ने अदालतले फैसला गरेको छ । त्यस्तै, जिवस यादवलाई १ वर्ष कैद गरी २ लाख रुपैयाँ जरिवाना हुने फैसला भएको छ । गोल्डेन गेट कलेजकै शिक्षक हरिहर सापकोटलाई १ महीना १५ दिन कैद गरी २ हजार ५ सय रुपैयाँ जरीवाना हुने विशेष अदालतले फैसला गरेको छ ।
अख्तियारले एमबीबीएसको प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक गरी आरोपितहरूले ३४ लाख रुपैयाँ लिएको आरोप लगाएको थियो । अख्तियारले उनीहरूबाट बरामद भएको सो रकम विशेष अदालतमा पेश गरेको थियो । सो रकम राज्यकोषमा जाने विशेष अदालतको ठहर छ ।
परीक्षाअघि नै सार्वजनिक भएको प्रश्नपत्र परीक्षा हलमा गएर दाँज्दा हुबहु भएको देखेपछि अख्तियारको टोलीले गोल्डेन गेटका निर्देशक पाण्डेलगायतलाई पक्राउ गरेको थियो । परीक्षाअघि नै प्रश्नपत्र सार्वजनिक गर्ने दलालहरूले एउटा प्रश्नपत्रको १० देखि १५ लाख रुपैयाँसम्म विक्री गर्ने गरेका अनुसन्धानको क्रममा अख्तियारले फेला पारेको थियो । अख्तियारको टोलीमा संलग्न रहेका व्यक्ति विद्यार्थीको भेषमा नै गएका बताइन्छ ।
एमबीबीएसको परीक्षामा बिषयगत प्रश्न मात्र सोध्ने गरिन्छ । सो प्रश्नको पूर्णाङ्क १ सय हुने गरेको छ । त्यस्तो प्रश्नपत्र विक्री गर्नेमा आरोप लागेका धर्मेन्द्र सङ्ग्रौला र शहीद अख्तरलाई भने विशेष अदालतले सफाइ दिएको छ । विशेष अदालतले यस्तो किसिमको आरोपमा पहिलोपटक फैसला गरेको हो ।