पर्वत । प्राविधिकको अभावमा पर्वतमा भूकम्पपीडितको आवास पुनर्निर्माण कार्य प्रभावित भएको छ । घरको नक्साङ्कन गर्ने प्राविधिक नहुँदा आवास पुनर्निर्माण अनुदान लगेका पीडितले घर निर्माण थाल्न नसकेको बताएका छन् । ‘पहिलो किस्ताको रकम लगेको ३ महीना भयो,’ फलेवास–३ का कमल जैसीले भने, ‘कस्तो घर बनाउने कुनै मेसो नहुँदा लगेको पैसो सकियो ।’ उनी जस्तै सोही गाउँका नारायण तिवारी, भगवती अधिकारीसहित अधिकांश परिवारले नयाँ घर नबनाई पाएको रकम घरखर्चमा सकेका छन् ।
ठूलीपोखरीका उमेश सापकोटाले भने भूकम्पप्रतिरोधी घर बनाइसकेका छन् । प्राधिकरणले दिएको मापदण्डभित्र घर बनाएका उनले दोस्रो तथा अन्तिम किस्ताका लागि धेरै पहल गरे पनि प्रक्रिया अघि नबढेको बताए । सोही गाउँका धर्मदत्त सुवेदी, दिलीप जीसी, दुर्गादत्त गौतमले पनि घर बनाएर भ्याउन लागिसकेका छन् । भूकम्पपीडित घर बनिसक्दा पनि प्राविधिक अभावमा दोस्रो किस्ता नपाएपछि ठूलीपोखरीका अधिकांश पीडित समस्यामा छन् । जिल्लाका करीब ३ हजारभन्दा बढी लाभग्राहीले घर निर्माण सकेपछि पनि दोस्रो किस्ता पाएका छैनन् ।
पहिलो किस्ता वितरण शुरू भएको १ वर्षपछि प्राविधिक खटिन शुरू भए पनि अहिलेसम्म सबै नगर र गाउँपालिकाका वडामा कर्मचारी पुगेका छैनन् । ‘कुश्मा र फलेवासमा केही प्राविधिक भर्खरै आएका छन्’, जिल्लास्थित भूकम्पीय पुनर्निर्माण कार्यक्रमका समन्वयकर्ता तुल्सीराम शर्माले भने, ‘प्राविधिक मूल्याङ्कन गर्ने सफ्टवेयर नहुँदा कर्मचारी निर्माणस्थलमा जान सकेका छैनन् ।’ उनले यो वर्ष दोस्रो किस्ता पाउने सम्भावना नरहेको बताए । जिल्ला समन्वय समितिको तथ्याङ्कअनुसार ५ हजार २ सय ६९ घर पूर्ण क्षति भएकोमा अहिलेसम्म ४ हजार ६ सय २० जनाले पहिलो किस्ता लगेका छन् ।