रौतहट । रौतहटको कटहरिया नगरपालिकामा स्थापना भएको बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स उद्योग फागुनको पहिलो सातादेखि सञ्चालन हुने भएको छ । सो उद्योग कटहरिया नपाअन्तर्गत वडा ९ डुमरिया टोलमा रहेको छ । १ वर्षअघि शिलान्यास भएको सो उद्योगको भवन निर्माणको अधिकांश काम सकिएको र अहिले उपकरण तथा मेशिनहरू जडानको काम तीव्ररूपमा भइरहेको उद्योगका अध्यक्ष बैजुप्रसाद बाबराले बताए । उनले भने, केही उपकरण आउने क्रममा रहेकोले ती उपकरण जडान भएपछि उद्योग सञ्चालन हुनेछ ।
भवन निर्माण तथा उपकरण खरीद गरी उद्योगको कुल लागत १ अर्ब २५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । उद्योगले करीब ५ सय जनालाई रोजगारी दिने बताउँदै अध्यक्ष बाबराले अहिले आवेदन लिने काम भइरहेको बताए । उनका अनुसार मिल सञ्चालनका लागि आवश्यक कर्मचारी माघ महीनाभित्रै छनोट गरी नियुक्ति गरिनेछ । उनले रोजगारीमा स्थानीयलाई नै विशेष प्राथमिकता दिने पनि स्पष्ट पारे ।
उद्योग सञ्चालनमा आउनुअघि नै उखुखेती गर्ने कृषकलाई प्रोत्साहनका लागि उखुका बीउसमेत उपलब्ध गराइसकेको उद्योगसम्बद्ध स्रोतले बतायो । उद्योगले दैनिक २५ हजार क्वीण्टल उखु क्रशिङ गर्ने बताइएको छ ।
नयाँ उपकरण जडान भएका कारण यस वर्ष १० लाख क्वीण्टल उखु क्रशिङ गर्ने लक्ष्य राखिएको अध्यक्ष बाबराले बताए । आगामी वर्षमा उखु क्रशिङ बढाउँदै लैजाने र भुुक्तानीमा किसानलाई कुनै समस्या नहुने उनले बताए । तराईका जिल्ला उखुखेतीका लागि उत्तम रहेकाले रौतहट मात्र नभई छिमेकी जिल्लाको समेत उखु उद्योगमा आउने अपेक्षा उद्योगले गरेको छ ।
यसअघि रौतहटको गरुडामा श्रीराम सुगर मिल्स रहेको छ । दोस्रो चिनी उद्योगको रूपमा यो उद्योग स्थापना भएको हो । यस वर्ष श्रीराम सुगर मिलले भने १५ लाख क्वीण्टल उखु क्रशिङ गर्ने लक्ष्य राखेको बताएको छ । विभिन्न कारणले मिल सञ्चालनमा ढिलाइ भएको र पुस १७ गतेदेखि मिल सञ्चालनमा आएको जानकारी दिएको छ ।