धनगढी विमानस्थल : १७ बिगाहा जमीन नामसारी गर्न २३ करोड ११ लाख मुआब्जा
Jan 15, 2018
 
समाचार
धनगढी । धनगढी विमानस्थलको नाममा १ सय ३ कित्ता अर्थात् १७ बिगाहा ४ कट्ठा साढे ८ धुरी जमीन धनगढी नामसारी गर्न २३ करोड ११ लाख ५ हजार रुपैयाँ मुआब्जा वितरण गरिएको छ । ९८ घरपरिवारको जग्गा अधिग्रहण गरी अधिकांश जमीन विमानस्थलको नाममा नामसारी भइसकेको विमानस्थल प्रमुख छविसिंह ठकुल्लाले जानकारी दिए । ‘अब ८–१० घरपरिवारको जग्गा मात्रै नामसारी हुन बाँकी छ,’ उनले भने, ‘केही दिनभित्रै त्यो जमीन पनि नामसारी भएर आए धनगढी विमानस्थलको नाममा कुल ७० बिगाहा जमीन हुनेछ ।’
विमानस्थलको नाममा जग्गा नामसारी सम्पन्नलगत्तै धनगढी विमानस्थलको दूरी र दिशा पत्ता लगाउने उपकरण जडान गरिने विमानस्थल प्रमुख ठकुल्लाले बताए । बाक्लो हुस्सु र तुवाँलो लागेको र रात्रिकालीन समयमा पनि उडान गर्न सकिनेगरी जाइकाको सहयोगमा भीओआर–डीएमई उपकरण जडानका लागि जमीन अधिग्रहण गरिएको हो । धनगढी विमानस्थल त्रिभुवन विमानस्थलपछि धावनमार्ग लामो भएको देशकै ठूलो विमानस्थल हो ।
३० मिटर चौडाइ र १ हजार ८ सय मिटर लामो धावनमार्ग भएको धनगढी विमानस्थल ५२ बिगाहा क्षेत्रफलबाट बढेर अहिले ७० बिगाहा पुगेको छ । लामो समयको प्रयासपछि २०७२ सालमा पौने ९ बिगाहा जमीन अधिग्रहण गरिएको थियो भने हाल १७ बिगाहा ४ कट्ठा साढे ८ धूरी अधिग्रहण गरिएको छ ।
स्थानीयस्तरको प्रयास र सक्रियताकै कारण २०६२ सालमा विमानस्थलको धावनमार्ग कालोपत्र भएको थियो । अहिलेसम्म धनगढी विमानस्थलको नाममा करीब ६०–६५ बिगाहा जमीन रहेकोमा सबै मौसममा दूरी र दिशा पत्ता लगाउन सक्ने उपकरण भीओआर–डीएमई जडानका लागि थप १७ बिगाहाभन्दा बढी जमीन विमानस्थलको नाममा नामसारी हुने क्रम अन्तिम चरणमा पुगेको छ । मुआब्जा कम दिएको भन्दै जग्गा धनी यावप्रसाद जोशीले जिल्ला प्रशासनमार्फत गृह मन्त्रालयमा मुद्दा दायर गरेकाले काममा केही समस्या भए पनि बाँकी जमीन नामसारी गर्ने काम अघि बढिरहेको कार्यालयले बताएको छ ।
यसअघि जाइकाले उपकरण जडानका लागि माटो तथा जमीनको परीक्षण गरिसकेकाले उपकरण जडान हुन मात्र बाँकी रहेको ठकुल्लाले बताए । धनगढी विमानस्थलमा अहिले अन्दाजको भरमा वा पाइलटको आँखाले हेरेर (भीएफआरको सहायताले) जहाज अवतरण गरिँदै आएको उनले जानकारी दिए ।
२०६५ सालदेखि निरन्तर धनगढी विमानस्थलको स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गरिँदै आएको छ । सबै मौसममा सहजै विमान अवतरणका लागि ईभीओआर–डीएमई उपकरण जडान गर्न चालू आवभित्रै काम सक्ने लक्ष्यअनुरूप काम भइरहेको कार्यालयले बताएको छ । पाइलटको आँखाको भरमा धनगढीमा विमान अवतरण गर्नुपर्दा बाक्लो हुस्सु र तुवाँलोका कारण दैनिक उडान हुन नसकेको कार्यालयको भनाइ छ । पुस महीनाको तेस्रो सातासम्म मात्रै बाक्लो हुस्सु र तुवाँलोका कारण ५ दिन कुनै पनि कम्पनीका विमान धनगढी अवतरण हुन सकेनन् । घाम लागेको बेला अर्थात् आकाश खुलेका बेला मात्रै जहाज अवतरण हुने भएकाले जुनसुकै मौसम तथा रात्रिकालीन उडानका लागि पनि भीओआर–डीएमई उपकरण जडान अपरिहार्य भएको विमानस्थल प्रमुख ठकुल्लाले बताए ।