सुर्खेत । प्रदेश ६ को अस्थायी राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय संरचना व्यवस्थापनका लागि करीब २८ करोड रुपैयाँ खर्च लाग्ने प्रस्ताव गरिएको छ । क्षेत्रीय प्रशासन कार्यालयले प्रदेश व्यवस्थापिका संसद्, प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निवासलगायत संरचनाको तत्काल व्यवस्थापन गर्न उक्त बजेट प्रस्ताव गरेको हो ।
यसअघि कार्यदलले शैक्षिक जनशक्ति तालीम केन्द्रलाई संसद् भवनका रूपमा प्रयोग गर्न सिफारिश गरेको थियो । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयको हलमा पहिलो बैठक राख्न अनुमति दिएको छ । तालीम केन्द्रको हल मर्मत गर्न मात्रै करीब १ करोड रुपैयाँ खर्च लाग्नेछ ।
क्षेत्रीय वन निर्देशनालय र वन तालीम केन्द्रको भवनमा मुख्यमन्त्री, क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश प्रमुखको कार्यालय र आवासका रूपमा व्यवस्थापन गर्ने सरकारको तयारी छ । प्रदेश गृह मन्त्रालय जिल्ला स्वास्थ्य कार्यालय र क्षेत्रीय सिँचाइ परिसरलाई मन्त्री क्वार्टरका रूपमा प्रयोग गरिनेछ ।
क्षेत्रीय प्रशासन कार्यालयका शाखा अधिकृत केशवप्रसाद उपाध्यायले प्रादेशिक संरचनाको लागि भौतिक पूर्वाधार पर्याप्त रहेकाले मर्मतका लागि २८ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको बताए । ‘सरकारले प्रदेश प्रमुख नियुक्ति गरेसँगै भौतिक संरचना व्यवस्थापनको काम अघि बढ्नेछ,’ उनले भने । क्षेत्रीय प्रशासनद्वारा गठित कार्यदलले आवश्यक पूर्वाधारको पहिचान गर्नुका साथै मर्मतका लागि सरकारसँग बजेट माग गरेको हो । क्षेत्रीयस्तरका कार्यालयहरू खारेज हुने हुँदा कार्यदलले तिनै भवनलाई प्रदेश मन्त्रालयका रूपमा प्रयोग गर्न सिफारिश गरेको छ । क्षेत्रीय कार्यालयलाई मन्त्रालय, प्रदेश प्रमुख, मुख्यमन्त्री, संसद्, प्रदेश सभामुख/उपसभामुख कक्ष, तिनको सचिवालय तथा आवासको व्यवस्थापन गर्ने तयारी छ ।
प्रत्यक्षबाट २४ र समानुपातिकबाट १६ गरी ४० सदस्यीय संसद् हुनेछ । संसद् भवन निर्माण नहुञ्जेल क्षेत्रीय भवनबाटै काम चलाउन मर्मत खर्च माग गरिएको हो । कार्यदलले कम्तीमा ७ र बढीमा १० मन्त्रालय, मन्त्री निवास, कर्मचारी भवनको व्यवस्थापन गर्दै छ ।
निर्वाचन अधिकृतको प्रदेश कार्यालय स्थापना
सुर्खेत (अस) । राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै निर्वाचन अधिकृतको प्रदेश कार्यालय सुर्खेतको वीरेन्द्रनगरमा स्थापना गरिएको छ । आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ६ नम्बर प्रदेशअन्तर्गत शनिवार वीरेन्द्रनगरमा निर्वाचन अधिकृतको प्रदेश कार्यालय स्थापना गरिएको हो ।
कार्यालयको उद्घाटन गर्दै जिल्ला न्यायाधीश एवम् राष्ट्रियसभा निर्वाचन प्रदेश नम्बर ६ का निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले संविधानको कार्यान्वयनका लागि राष्ट्रियसभाको निर्वाचन महŒवपूर्ण रहेको बताए । उनले निर्वाचन कार्यतालिकाअनुसार मतदाता नामावली प्रकाशन र नामावली उपर दाबी विरोधको उजुरी आगामी माघ ७ गते लिइने बताए । उनका अनुसार माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न प्रदान गरिनेछ ।