ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भेरी बबई डाइभर्सन आयोजना : १३ सय ३५ मिटर खनियो सुरुङ

Jan 16, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

वीरेन्द्रनगर । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको सुरुङ खन्ने कामले तीव्रता लिएको छ । आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर रुक्माङ्गत खनालले दैनिक २० मिटरका दरले हालसम्म करीब १ हजार ३ सय ३५ मिटर सुरुङ खनिइसकिएको जानकारी दिए । सुरुङको लम्बाइ १२ किलोमिटर रहेको छ । सो सुरुङ तयार गर्न २ वर्ष लाग्ने आयोजनाले बताएको छ । प्रदेश नं. ५ र ६ को आर्थिक समृद्धिसँग जोडिएको सो आयोजनाको निर्माण कार्य तोकिएको समयभन्दा पहिले नै सक्ने उनले दाबी गरे । सिँचाइ विभाग र कोभेकबीच उक्त आयोजना २०७१ माघमा निर्माण थाली २०७५ फागुनमा सक्ने सम्झौता भएको थियो । सम्झौतामा डेढ वर्षभित्र सुरुङ निर्माण गरिसक्नुपर्ने उल्लेख भए पनि हालसम्म १२ प्रतिशतमात्र सुरुङ खनिएको छ । टनेल बोरिङ मेशिन (टीबीएम) पहाड फोर्न प्रयोग हुने चालकरहितको अत्याधुनिक प्रविधिको मेशिनबाट अहिले सुरुङ खन्ने काम भइरहेको छ । नेपालमै पहिलोपटक मेशिनबाट सुरुङ खन्ने काम गरिएको हो । भेरी र बबई नदीबीचको चुरे पर्वत खन्न उक्त मेशिनको प्रयोग भइरहेको छ । सुर्खेतको भेरी–गङ्गा नगरपालिकाको छिञ्चु–जाजरकोट सडकखण्डको चिप्ले भन्ने स्थानमा १५ मिटर अग्लो बाँध बनाई सुरुङमार्फत भेरी नदीको प्रतिसेकेण्ड ४० घनमिटर पानीलाई बबईमा लगिनेछ । बबईमा फर्काइएको पानीबाट ४८ मेगाबाट विद्युत् तथा बाँके र बर्दियाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने आयोजनाको उद्देश्य छ । बाह्रै महीना सिँचाइ उपलब्ध भएपछि कृषि उत्पादन बढ्न गई आयोजनाबाट वार्षिक ३ दशमलव १ अर्ब रुपैयाँ अप्रत्यक्ष तथा विद्युत्बाट २ दशमलव १ अर्ब रुपैयाँ प्रत्यक्ष आम्दानी हुने अनुमान गरिएको छ । आयोजनाको कुल लागत रू. १६ अर्ब ४५ करोड रहेको छ । सुरुङ निर्माणका लागि मात्रै रू. १० अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ । सुरुङ निर्माण अगाडि बढेपछि विद्युत्गृह निर्माणको कामसमेत शुरू हुनेछ । भेरीको पानीलाई बबई नदीमा झारेर सिँचाइ तथा विद्युत् उत्पादन गर्ने सो नेपालको पहिलो बहुउद्देश्यीय आयोजना हो । हाल आयोजनामा नेपाली तथा चिनियाँ गरी दैनिक ३ सयभन्दा बढी कामदार कार्यरत छन् । सुर्खेतको भेरीगङ्गा नगरपालिकाको हात्तीखालमा अन्तर–जलाधार जलस्थानान्तरण परियोजनामध्ये आयोजना देशकै पहिलो परियोजना हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)