ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनी–जोमसोम–कोरला सडक कालोपत्रे गर्न दुई अर्ब ५० करोडको ठेक्का

Jan 16, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
माघ २, म्याग्दी । बहुचर्तित बेनी–जोमसोम–कोरला सडक कालोपत्रे गर्नका लागि विभिन्न निर्माण कम्पनिहरुसँग रू. दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको छ । ठेक्का सम्झौतासँगै ४ नं प्रदेशको लाइफ लाइन (जीवन रेखा) मानिएको ७६ किमीको बेनी–जोमसोम—कोरला सडक कालोपत्रे हुनेभएको हो । कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालोपत्रे गर्ने तयारी भएको जानकारी दिएको छ । कालोपत्रे गर्न पूर्वाधार निर्माणको काम तीव्ररुपमा अघि बढेको बताउँदै नालीसहित ११ मिटर चौडाइ रहने दुई लेनको सडकको सात मिटर चौडाइमा कालोपत्रे गरिने आयोजनाका इन्जिनियर प्रदीप निरौलाले जानकारी दिए । बेनी–घाँसा खण्डमा डिबीएसडी र घाँसा–जोमसोम खण्डमा असपाल्ट प्रविधिको कालोपत्रे गरिने बताइएको छ । चार खण्डमा स्तरवृद्धिको काम गर्न विभिन्न निर्माण कम्पनीसँग रू. दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताए । वि.सं. २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट ११ मिटर फराकिलो दुई लेनको कालोपत्रेका साथै विभिन्न ठाउँका बेलीब्रिजलाई विस्थापन गरेर मोटर जाने पक्की पुल निर्माण गरिने आयोजनाका प्रमुख सुवेदीले जानकारी दिए । चिसोका कारण १ सय १० किमीको जोमसोम–कोरला खण्डको काम रोकिए पनि म्याग्दी खण्डमा सडक फराकिलो बनाउने काम तीव्र रुपमा अघि बढेको छ । निर्माण कम्पनी शर्मा गजुरमुखी जेभीका प्रतिनिधि सचिन क्षेत्रीले ११ डोजर र एक हजार मजदुर परिचालन गरेर चार ठाउँमा सडक फराकिलो बनाउने काम भइरहेको बताए । बैसरी, दुवाडी, दाना, तितर र काभ्रेभीर क्षेत्रमा सडक फराकिलो बनाउन पर्खाल लगाउने र भित्तातर्फको पहाड फुटाउने काम भइरहेको छ । लेतेदेखि माथिको क्षेत्रमा डाइभर्सन गरेर सवारी सञ्चालनको व्यवस्था गरिए पनि म्याग्दी खण्डको सडक साँघुरो भएकाले सवारी आवतजावत भइरहेको अवस्थामा काम गर्न कठिनाइ भएको प्रतिनिधि क्षेत्रीले बताए । अक्करे भीर र कमजोर भूगोलका कारण म्याग्दी खण्डको सडक विस्तारमा जोखिमसमेत उत्तिकै छ । पहाड फुटाउनका लागि ३०५ पिएल क्षमताको स्काभेटर ल्याइएको छ । मजदूरले शरीरमा डोरी बाँधेर भीरमा काम गरिरहेका छन् । आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले काम प्रभावित भएपछि सडकमा सवारी सञ्चालनका लागि अस्थायी कार्यतालिका बनाइएको बताउँदै रातिबाहेक बिहान ९ बजे र ११ बजे तथा दिउँसो ३ बजे सवारी सञ्चालनका लागि खुला गर्ने व्यवस्था मिलाइएको सुपरभाइजर शेरचनले बताए । सडक कालोपत्रे भएपछि कोरला नाका सञ्चालन गर्न वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवम् तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयबासीलाई सुविधा पुग्ने तथा कालीगण्डकी र आसपासका नदीमा जलविद्युतको विकास हुने म्याग्दीका उद्योगी व्यापारीहरुले अपेक्षा गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)