माघ २, पर्वत । कुश्मा नगरपालिका–३ स्थित महाभीर खोलामा साहसिक खेल क्यानोनिङको औपचारिक शुरुआत भएको छ । जिल्लाकै मनोरम एवम् बाह्रैमास एकै किसिमको रहने उक्त खोलामा क्यानोनिङ सञ्चालन गरिएको हो ।
[caption id="attachment_169562" align="aligncenter" width="960"] पर्वतको महाभीर खोलाको झरनामा परीक्षणको रुपमा क्यानोनिङ गर्दै स्थानीय मदन गुरुङ । यो झरनामा वार्षिक एक हजारसम्म पर्यटकलाई भित्र्याउने लक्ष्य रहेको छ । तस्वीरः रोशन तिवारी/आर्थिक अभियान[/caption] हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, वञ्जीजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गर्दै धौलागिरिमै पहिलोपटक क्यानोनिङ सञ्चालन गरिएको सञ्चालक उद्धिमबहादुर गुरुङले जानकारी दिए । औपचारिक रुपमा क्यानोनिङको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य पदम गिरीले क्यानोनिङले स्थानीय पर्यटनको विकासमा महत्वपूर्ण भूमिका रहने बताए । पर्वत सदरमुकाम कुश्माबजारबाट झण्डै सात किमीको दूरीमा अवस्थित उक्त स्थानमा गुरुङ बस्तीको बाहुल्यता रहेको छ । स्थानीय चनौटेमा होमस्टे विस्तार र महाभीर खोलामा क्यानोनिङ एकैपटक शुरु गरिएको गुरुङले जानकारी दिए । कुश्माबजारबाट आधा घण्टामै पुग्न सकिने तथा नेपालको मुख्य पर्यटकीय शहर पोखराबाट समेत साढे दुई घण्टाको दूरीमा उक्त स्थानमा पुग्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने गुरुङको विश्वास रहेको छ । एकीकृत सामुदायिक विकास केन्द्रद्वारा सञ्चालनमा ल्याइएकोे क्यानोनिङमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक व्यवस्थापन, पूर्वाधार निर्माण तथा अन्य विविध तयारीसमेत भइरहेको स्थानीयबासी राजन गुरुङले जानकारी दिए । ‘जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि यस क्यानोनिङको महत्वपूर्ण योगदान रहने विश्वास लिएका छौँ’, गुरुङले भने, ‘पर्वत जिल्ला अब प्रदेश नम्बर ४ को पर्यटकीय गन्तव्य वन्छ भन्ने विश्वास छ ।’ पर्वत हुँदै हिमालपारीको जिल्ला मुस्ताङ, म्याग्दी, राउण्ड अन्नपूर्ण तथा धौलागिरि जाने पर्यटकलाई पनि उक्त क्यानोनिङसम्म लैजान सकिने र एक दिन उक्त स्थानमा राखेर अर्को दिन गन्तव्यतर्फ पठाउने गरी तयारी भइरहेको गुरुङले जानकारी दिए । अहिलेसम्म नेपालमा वार्षिक रुपमा स्वदेशी तथा विदेशी गरी करीब १० हजारले क्यानोनिङ गर्दै आएका छन् । यो झरनामा वार्षिक एक हजारसम्म पर्यटकलाई भित्र्याउने लक्ष्य लिइएको छ । क्यानोनिङ सञ्चालनका लागि टानसँग समन्वयसमेत भइरहेको बताइएको छ । क्यानोनिङ सञ्चालनका लागि स्थानीय साझेदार संस्थासँगसमेत समन्वय गरिने सञ्चालकको भनाइ छ । गुरुङ समुदायमा रहेको होमस्टेमा अर्गानिक खाना, दिउँसोमा क्यानोनिङलगायत उक्त क्षेत्रमा रहेका वनजङ्गल, जडीबुटी र वन्यजन्तुको शिकारलगायतका प्याकेज कार्यक्रम बनाउनेसमेत तयारी भएको बताइएको छ ।