पर्वत । कुश्माका सन्तोष जोशीले जिल्ला प्रशासन कार्यालयअगाडि चल्तीमा रहेको स्टेशनरी पसल हालै विक्री गरे । उनी अहिले पोखरामा नयाँ व्यवसाय शुरू गर्दै छन् । जोशीजस्तै जिल्ला समन्वय समितिको गेटमै रहेका आलोक श्रेष्ठ पनि फोटो स्टुडियो र सरकारी कामकाजसम्बन्धी कागजपत्र तयार पार्ने पेशा छोडेर अहिले रिसोर्ट सञ्चालन गर्दै छन् । स्थानीय तहको पुनःसंरचनापछि जिल्लाका सरकारी कार्यालय गाउँ केन्द्रित भएपछि जिल्लाको व्यापार व्यवसायमा मन्दी आएको हो, जस कारण सानादेखि ठूला व्यवसायीले समेत वैकल्पिक पेशा खोज्न थालेका छन् । स्थानीय तहको पुनःसंरचनाभन्दा अगाडि गाविस सचिवहरू सदरमुकाममै बस्ने गरेका थिए । दैनिक रूपमा सेवा लिन आउने सेवाग्राहीले यहाँको कारोबार धानेको थियो । अहिले सरकारी सेवा गाउँ फर्किएको छ । यसले गर्दा यहाँका व्यापारी÷व्यवसायीले वैकल्पिक पेशाको खोजी गर्नुपर्ने अवस्था आएको हो ।
पर्वतका ५५ गाविस समेटेर दुई नगरपालिका र पाँच गाउँपालिका कार्यान्वयनमा आएपछि जिल्लाभरको आर्थिक केन्द्रका रूपमा रहेको सदरमुकाम कुश्माको आर्थिक गतिविधि सङ्कट घट्दै गएको छ । सदरमुकामदेखि उत्तर, दक्षिण, दक्षिणपूर्व तथा पश्चिममा छुट्टाछुट्टै केन्द्र कार्यान्वयनमा आएपछि सदरमुकामका वित्तीय संस्था, होटल र यातायात व्यवसायमा समेत मन्दी देखिएको छ ।
पहिले दक्षिणका १६ गाविसका बासिन्दा स–सानो कामका लागि पनि दिनभरको यात्रा गरेर सदरमुकाम आउन बाध्य थिए । घरकै छेउमा गाउँपालिका र नगरपालिकाको केन्द्र बनेपछि स्थानीयवासीलाई सेवा लिन सहज बनेको छ । यद्यपि, यसले कुश्माको व्यवसायमा भने प्रत्यक्ष असर गरेको छ । सेवाग्राही घट्दा सदरमुकामका होलसेल तथा खुद्रा व्यवसायीसमेत चिन्तित छन् । ‘अब ग्रामीण क्षेत्रमा सामान पठाउने काम हराउने भयो,’ डेढ दशकदेखि दैनिक उपभोग्य सामानको होलसेल व्यापार गर्दै आएका लोकनाथ अधिकारीले भने । स–साना व्यवसायी पनि सदरमुकामसँगको सम्पर्कबाट टुटेपछि व्यवसायी चिन्तामा छन् । नयाँ संरचना कार्यान्वयन भएसँगै सदरमुकामको सम्पूर्ण व्यवसाय अब साविकका १० गाविसमा मात्रै केन्द्रित छ । त्यस्तै, दक्षिणतर्फका महाशिला, पैयुँ र बिहादी गाउँपालिकाका बासिन्दा पनि सदरमुकामभन्दा छिटो बुटवल पुग्न सक्छन् । पूर्व र दक्षिणका २९ गाविसवासीलाई किनमेल र दैनिक उपभोग्य सामानका लागि सदमुकामभन्दा नजीक स्याङ्जा र कास्कीका बजार पर्छन् । स–सानो कामकाज लिएर सदरमुकाम आउनेहरू केही दिन बस्नुपर्दा सदरमुकामका होटल, वित्तीय संस्थालगायतको व्यवसाय बढ्ने गथ्र्यो । ‘अब सदरमुकाम जानुपर्ने बाध्यता हुँदैन,’ हुवासका प्रदीप प्रधानले भने ।
पछिल्लो समय सदरमुकाम केन्द्रित भएर खुलेका दर्जनौं वित्तीय संस्थाले पनि अब गाउँ केन्द्रित लगानीको विकल्प नभएको बताएका छन् । ‘सदरमुकाममा मात्रै व्यापार छ भन्ने सोच पुरानो भयो,’ एनआईसी एशिया बैङ्कको कुश्मा शाखाका प्रबन्धक विजय चापागाईंले भने । यसअघि सदरमुकामका घरजग्गालाई मात्रै धितो मानेर लगानी गर्दै आएका बैङ्कहरूले आफ्नो आर्थिक रणनीति बदलेर ग्रामीण क्षेत्रको धितोमा पनि लगानी गर्न थालेका छन् । पर्वतमा दक्षिणका हुवास, फलेवास, कार्कीनेटा, लुङ्खु, रानीपानी, उत्तरका माझफाँट र पातीचौर आर्थिक केन्द्र हुन् ।