सुर्खेत । सुर्खेतस्थित मध्यपश्चिम क्षेत्रीय अस्पतालमा कार्यरत नर्सहरूले आन्दोलन जारी राखेका छन् । ११ बुँदे माग राखी उनीहरूले बुधवार इमर्जेन्सीबाहेक अस्पतालका सबै सेवा ठप्प पारेर विरोध जनाए ।
नेपाल नर्सिङ सङ्घले देशव्यापी रूपमा शुरू गरेको चरणबद्ध आन्दोलनअन्तर्गत सुर्खेतमा पनि नर्सहरूले आन्दोलन जारी राखेका हुन् । नर्सहरूको आन्दोलनका कारण क्षेत्रीय अस्पतालमा इमर्जेन्सीबाहेक अन्य सेवाहरू प्रभावित भएका छन् । सरकारी अस्पतालका नर्सहरूले आन्दोलन गरेपछि आमसर्वसाधारण उपचारका लागि निजी अस्पतालमा जान बाध्य भएका छन् । क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. डम्बर खड्काले अस्पतालमा कार्यरत नर्सहरू आन्दोलित हुँदा सेवाप्रवाहमा कठिनाइ भइरहेको बताए । उनले नर्सहरूका मागलाई राज्यले छिटो सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
श्रम ऐन २०७४ तत्काल लागू गर्नुपर्ने, दुर्गममा काम गर्ने नर्सलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनुपर्ने, योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्तिविकासका लागि प्रष्ट खाका तयार गर्नुपर्ने, योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई स्नातक नर्सिङ, स्नातक नर्सिङलाई स्नातकोत्तर नर्सिङ र स्नातकोत्तर नर्सिङलाई पीएचडीसम्म अध्ययनका लागि तलबी अध्ययन विदाको व्यवस्था गर्नुपर्नेजस्ता ११ बुँदे मागसहित आन्दोलनमा उत्रिएको नेपाल नर्सिङ सङ्घ सुर्खेतले बताएको छ ।
सङ्घ सुर्खेतकी अध्यक्ष गीता सुवेदीले माग पूरा नभए ४ गतेदेखि जिल्लाका सबै अस्पताल र स्वास्थ्य संस्थान ठप्प पार्ने बताइन् । उनले नर्सहरूको हक, हित र अधिकारका लागि जिल्लाका नर्सहरू आन्दोलित रहेको बताइन् । सङ्घकी केन्द्रीय सदस्य दीपा भट्टराईले आफ्ना माग पूरा नभए माघ ७ गतेबाट २४ सै घण्टा हस्पिटलको सेवा अवरुद्ध गर्ने बताइन् । उनले साङ्केतिक रूपले अहिले शुरू भएको आन्दोलनलाई सामान्य रूपमा नबुझ्न सरकारसँग आग्रह गरिन् ।