प्रदेश सांसदमा विजयी डन दीपक मनाङ्गे जुनसुकै बेला पक्राउ पर्न सक्ने, प्रहरीलाई पक्राउ गर्ने बाटो खुल्यो
Jan 21, 2018
 
समाचार
माघ ७, काठमाडौं । मनाङबाट प्रदेशसभा सदस्य निर्वाचित दीपक मनाङ्गेलाई पक्राउ गर्न आइतवारबाट प्रहरीलाई बाटो खुला भएको छ । तत्कालीन पुनरावेदन अदालत, पाटनले मनाङ्गेलाई ५ वर्ष कैद गर्ने गरी गरेको फैसलालाई काठमाडौं जिल्ला अदालतले आइतवार लगत राखे पछि उनलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको हो ।
काठमाडौं जिल्ला अदालतको तहसिल शाखा स्रोतका अनुसार तत्कालीन पुनरावेदन अदालत, पाटनले मनाङ्गेलाई ५ वर्ष कैद गर्ने गरी गरेको फैसलालाई लगत राखेको हो । तत्कालीन पुनरावेदन अदालत, पाटनले गरेको सो फैसला बमोजिम काठमाडौं जिल्ला अदालतले लगत राखेको थिएन् । त्यसको लगत अदालतले आइतवार बल्ल राखेको छ ।
यस्तो थियो घटना
२०६१ सालमा चक्रे मिलनको समूहमा हिड्ने व्यक्तिलाई मनाङ्गेको समूहले खुकुरी प्रहार गरेको आरोप लगाइएको थियो । त्यसरी खुकुरी प्रहार गरे पछि चक्रेको टाउकोमा गम्भीर चोट लागी हात समेत चुडिएको उल्लेख गरिएको थियो । सो घटनामा जोडिएका मनाङ्गेलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । सो अदालतले मनाङ्गेलाई दुई वर्ष कैद गरेको थियो । सो फैसलामा चित्त नबुझाई सरकारी पक्षले तत्कालीन पुनरावेदन अदालत, पाटनमा पुनरावेदन गरेको थियो । सो अदालतले २०६९ सालमा मनाङ्गेलाई ५ वर्ष कैद हुने ठहर गरेको थियो ।
काठमाडौं जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत दुवैले गरेको फैसलाविरुद्ध मनाङ्गेले पुनरावेदन गरेका थिएनन् । उनी काठमाडौं जिल्ला अदालतले गरेको फैसला बमोजिम २ वर्ष कैद बसिसकेको देखिएको छ । काठमाडौं जिल्ला अदालत स्रोतले भन्यो, ‘अव उनी ३ वर्ष मात्र कैद बसे पुग्ने भयो ।’
आइतवार मनाङ्गेविरुद्ध काठमाडौं जिल्ला अदालतले राखेको लगत प्रहरीले जानकारी पाइसकेको तहशील शाखा स्रोतले बतायो । लगतको जानकारी प्रहरी प्रधान कार्यालय तथा सिआइवीले समेत जानकारी लिइसकेको बताइन्छ । आइतवारदेखि नै मनाङ्गे जुनसुकै बेला पनि पक्राउ पर्न सक्ने प्रहरी स्रोतले जानकारी दियो ।
मनाङ्गेले प्रदेश सभाको सदस्यको रुपमा आइतवार सपथ लिएका छैनन् । सात ओटै प्रदेशका सदस्यहरुले सपथ लिने दिन आइतवार उनी त्यस समारोहमा उपस्थित भएनन् । ४ नम्बर प्रदेशका प्रदेश सदस्यहरुमध्ये सबैभन्दा जेष्ठ सदस्यलाई त्यहाँका प्रदेश प्रमुखले सपथ दिलाएका थिए भने जेष्ठ सदस्यले अन्य सदस्यलाई सपथ दिलाएका हुन् । त्यहाँ मनाङ्गे उपस्थित भएनन् ।