वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा भूकम्पप्रतिरोधी भौतिक संरचना निर्माणको क्रम बढेको छ । भवन निर्माण मापदण्ड कार्यान्वयनमा नगरपालिकाको कडाइ र बढ्दो जनचेतनाका कारण सुरक्षित भवन निर्माण बढेको हो । २०७२ वैशाखमा गएको भूकम्पपछि वीरेन्द्रनगरमा भूकम्पप्रतिरोधी भवन बनाउनेको सङ्ख्या बढेको थियो ।
वीरेन्द्रनगर नगरपालिकाले अहिले नगर क्षेत्रभित्र बनाइने भवन अनिवार्य रूपमा भूकम्पप्रतिरोधी हुनुपर्ने मापदण्ड कार्यान्वयन गरेको छ । भूकम्पप्रतिराधी नबनाए घरनक्सा पास नहुने भएकाले समेत सुरक्षित संरचना निर्माणमा ध्यान दिन थालिएको छ ।
नगरपालिकाले घर निर्माणको स्वीकृति लिँदा नै भूकम्पप्रतिरोधी मापदण्ड पालनामा अनिवार्य गरेको छ । नगरपालिका कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा घर निर्माण स्वीकृतिका लागि आएका निवेदनमध्ये भूकम्पप्रतिरोधी नदेखिएका घरको नक्सा पास गरिएको छैन । उक्त आवमा नक्सासहित नगरपालिकामा दर्ता भएका ६ सय ६९ मध्ये ४ सय ९० भवनको मात्र नक्सा पास भएको छ ।
यसैगरी चालू आवको ६ महीनामा ७६ ओटा भवनको नक्सा पास भएको छैन् । नगरपालिकाको तथ्याङ्कअनुसार हालसम्म ३ सय ३० ओटा भवन निर्माणका लागि निवेदन दर्ता भएका छन् । यसमध्ये २ सय ५४ ओटा मात्रै स्वीकृत भएको नगरपालिका नक्सा पास उपशाखाका अमिन भूपेन्द्रबहादुर अधिकारीले बताए । भूकम्पप्रतिरोधी भवन निर्माण नभएसम्म नक्सा पास नै नहुने उनले बताए । ‘नगरभित्र अनिवार्य रूपमा भूकम्पप्रतिरोधी घर बनाउने नियम कडाइका साथ लागू गरिएको छ,’ उनले भने ।
नक्सा पासविना घर बनाउनेलाई नगरपालिकाले विद्युत् र खानेपानी जडानका लागि सिफारिश दिँदैन । सेवा–सुविधाबाट वञ्चित हुनुपर्ने भएकाले पनि भूकम्पप्रतिरोधी संरचना निर्माणको चेतना बढेको अधिकारीले बताए । नगरपालिकामा करीब २५ प्रतिशतले अझै पनि नक्सा पास नगरी भवन बनाउने गरेको पाइएको छ । भूकम्पप्रतिरोधी शक्ति कमजोर भएका पुराना संरचनालाई भूकम्पीय प्रबलीकरण तथा सुदृढीकरण गर्न सकिने भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख भूकम्पविद् रत्नमणि गुप्ताले बताए ।
शहरी विकास तथा भवन डिभिजन कार्यालयका इञ्जिनीयर टीकाराम पोखरेलले भवनको लागत २० प्रतिशत मात्रै बढ्ने भएकाले अनिवार्य रूपमा भूकम्पप्रतिरोधी बनाउन आग्रह गरे । नगरभित्रका अधिकांश पुराना सरकारी तथा निजी घर भूकम्पप्रतिरोधी नभएको उनको भनाइ छ । भूकम्पबाट हुने जोखीम न्यूनीकरणका लागि बनिसकेका भवनको प्रबलीकरण गर्नुपर्ने र नयाँ भवन भूकम्पप्रतिरोधी बनाउनुपर्नेमा उनले जोड दिए । भूकम्प जति बेला पनि आउन सक्ने भएकाले क्षति कम गर्न पहिले नै सतर्कता अपनाउनुपर्ने उनले बताए ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरभित्र निर्माण हुने सरकारी तथा निजी भवनमा आचार संहिताको पालना भए÷नभएको अनुगमन गरिँदै आएको बताए । ‘हामी नगरभित्रका भवन भूकम्पप्रतिरोधी बनाउने प्रयासमा छौं,’ उनले भने, ‘भवन बनाउँदा अनिवार्य रूपमा नक्सा पास गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेका छौं ।’