ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आँगनमा विद्युत्का पोल : घरभित्र अँध्यारो

Jan 23, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । घरको आगँनमा केन्द्रीय विद्युत् प्रसारण लाइनका पोल गाडिएका छन् । घरैमाथि विद्युत्का तार झुन्डिएका छन् । त्यही आँगनमा गाडिएका पोल र टाँगिएका तारमार्फत विद्युत् प्रसारण भइरहेको छ । तर, घर छेउबाटै विद्युत् प्रसारण भइरहे पनि जिल्लाको त्रिवेणी गाउँपालिकाका अधिकांश घर अँध्यारोमा छन् । केन्द्रीय विद्युत् प्रसारण लाइनले विद्युतीकरण नगर्दा गाउँ अँध्यारो बनेको हो । विद्युत् विस्तार नहुँदा विशेषगरी गाउँपालिकाका वडा नं ३ र ६ का धबाङ, हाईवाङ, बित्ताडाँडा, खाटबारे, काप्रापानी, राङटेलगायत गाउँ र मुसीकोट नगरपालिका वडा नं ११ का गाउँको जनजीवन कष्टकर बनेको छ । केन्द्रीय विद्युत् प्रसारण लाइन गाउँमा पुगे पनि घरमा अझै बिजुलीबत्ती बाल्न नपाइएको स्थानीय भीमबहादुर खड्काले गुनासो गरे । गाउँमा विद्युत् विस्तारका लागि पटकपटक माग राखे पनि सुनुवाइ नभएको स्थानीयले सुनाए । गाउँमा विद्युत् विस्तार नहुँदा अझै टुकीकै भरमा रात बिताउनुपरेको मुसीकोट नगरपालिका–११ का रामबहादुर कामीले बताए । ‘चुनावी अभियानमा अध्यारो गाउँलाई उज्यालो बनाउन पहल गर्ने भनिए तापनि यसतर्फ स्थानीय राजनीतिक दलको ध्यान पुग्न सकेको छैन,’ उनले भने, ‘स्थानीय सरकारले समेत पहल गरेको छैन ।’ यता त्रिवेणी गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तीले नेपाल सरकारको ४६ करोड लागतमा गाउँमा विद्युतीकरण कार्य अन्तिम चरणमा पुगेको बताए । उनले भने, ‘बैरागी ठाँटी र काङ्गेखोलामा विद्युत् विस्तार गरिनेछ ।’ अहिले सिम्रतु झुल्नेटा बजार र त्रिवेणी गाउँपालिकाको वडा नं ६ का केही भागमा बत्ती पुगेको र केहीमा विस्तार गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । सिम्रतु खोलामा २ सय २० किलोवाट क्षमताको विद्युत् उत्पादन भइरहेकोले त्यसले पनि केही वडामा विद्युतीकरण गरिने उनको भनाइ छ । विद्युत् प्राधिकरण मुसीकोट शाखाका प्रमुख दिवाकर प्याकुरेलले त्रिवेणी गाउँपालिकाका ७, ८, ९, १० वडाका लागि पोल आइसकेको र काम अघि बढेको बताए । ‘छिट्टै रुकुमका सबैजसो ग्रामीण क्षेत्रमा विद्युतीकरण हुनेछ,’ उनले भने । गत फागुनदेखि जिल्लामा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)