सामुदायिक विद्यालयमा स्मार्ट कक्षाको तयारी, शिक्षकलाई पनि कम्प्युटरको ट्युशन
Jan 23, 2018
 
समाचार
माघ ९, पर्वत । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै गइरहेको अवस्थामा पर्वतको एक सामुदायिक विद्यालयमा भने स्मार्ट कक्षा सञ्चालन गर्ने तयारी भईरहेको छ । फलेबास नगरपालिका–७ लिमिठानामा रहेको लिमिठाना माध्यमिक विद्यालयले कम्प्युटर माध्यमबाट कक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।
‘अहिले नेटको केहि समस्या देखियो’, विद्यालयका प्रधानाध्यापक यामप्रसाद शर्माले भने, ‘नेटको समस्या समाधानको बिकल्पका बारेमा नगरपालिकामा कुरा राखेका छौँ ।’ उनले तयारी सबै भएपनि नेटको सुविधा नहुँदा तत्काल कक्षा सञ्चालन गर्न नसकिएको बताए ।
विद्यालयले कक्षा ६, ७ र ८ का विद्यार्थीहरुलाई पहिलो चरणमा स्मार्ट कक्षा सञ्चालन गर्ने बताएको छ । विद्यालयमा जडान गरिएका १० ओटा कम्युटरको सहायताले शुरुमा अङ्ग्रेजी, विज्ञान र गणित विषयको कक्षा सञ्चालनको तयारी भएको छ ।
विद्यालयमा सोर्डक नेपाल मार्फत गुड नेवर्स इण्टरनेशनल नेपालले १० थान कम्प्युटर, प्रोजेक्टर र अन्य भौतिक सामग्री सहयोग गरेको थियो । प्रअ शर्माका अनुसार विद्यालयमा झण्डै १२ लाखको लागतमा भौतिक संरचना तयार भईसकेको छ । कक्षामा प्रोजेक्टरको माध्यमबाट इन्टरनेटमा उपलब्ध शैक्षिक सामग्रीका आधारमा अध्यापन गराइनेछ ।
यसपछि थप ३० ओटा कम्प्युटर जोडेर सबै कक्षाका विद्यार्थीलाई स्मार्ट कक्षामा रुपान्तरण गर्ने सोच रहेको प्रअ शर्माले बताए । ‘विद्यार्थीको माग र चाहना बमोजिम हामी अब स्मार्ट कक्षा सञ्चालनको तयारीमा छौं’ शर्माले भने, ‘प्रविधियुक्त गुणस्तरीय शिक्षाले दक्ष जनशक्ति उत्पादन हुनेछ ।’
स्मार्ट कक्षा सञ्चालनको तयारी गरेका कारण उक्त विद्यालयमा विद्यार्थीको चाप समेत बढेको छ ।
शिक्षकलाई पनि कम्प्युटरको ट्युशन
प्रअ शर्मा भन्छन्, ‘सबै शिक्षकलाई कम्प्युटर तालिम लिएर दक्ष बन्न निर्देशन दिएका छौं ।’ शिक्षकलाई दक्ष नबनाई कक्षा सञ्चालन गर्न समस्या हुने भएकाले शिक्षकलाई ट्युशन कक्षा चलाईरहेको उनले बताए ।
फलेवास नगरपालिकाकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयहरुमा अङ्ग्रेजी माध्यमको अध्यापन अनिवार्य गराउने गरी तयारी गरेको छ । नगरपालिकाको योजनालाई फड्को मारेर यो विद्यालयले भने स्मार्ट कक्षाको तयारी गरेकोमा अभिभावकहरु हौसिएका छन् ।