माघ १०, पर्वत । द्वन्द्वकालमा असुरक्षाका कारण विस्थापित भएको राष्ट्रिय वाणिज्य बैङ्कको शाखा १७ वर्षपछि पुनःस्थापित भएको छ । पर्वतको महाशिला गाँउपालिका वडा नं. ५ लुङ्खुदेउरालीमा उक्त शाखाले मङ्गलवारदेखि नै औपचारिक कारोबार समेत शुरु गरेको छ ।
वि.सं. २०३८ सालमा शाखा सञ्चालन भएको बैङ्क १९ वर्ष सेवा दिएर तत्कालीन माओवादीले चलाएको १० वर्षे द्वन्द्वकालमा असुरक्षाको कारण देखाउँदै वि.सं. २०५७ सालमा विस्थापित भएको थियो । देशभर राष्ट्रिय वाणिज्य बैङ्कका १ सय शाखाहरु द्वन्द्वकालमा विस्थापित भई सदरमुकाम सरेका थिए । नेपाल सरकारले स्थानीय तहको बजेट राख्नका लागि बाणिज्य बैङ्कमै खाता खोल्नुपर्ने व्यवस्था गरेअनुसार द्वन्द्वकालमा विस्थापित राष्ट्रिय बाणिज्य बैङ्कको शाखा पुनः सञ्चालनमा ल्याइएको हो ।
पर्वतका प्रदेशसभा सांसद विकास लम्सालले शाखाको मङ्गलवार उद्घाटन गरे । लम्सालले चेक साटेर बैङ्किङ कारोबार शुरु गरेका थिए । उनले अब छिट्टै स्थानीय तहमा पुर्वाधार विस्तार गरी सबै तहमा सरकारी कारोबार गर्न स्वीकृति प्राप्त बैङ्कहरु सञ्चालनमा ल्याउन पहल गर्ने बताए ।
यस शाखाबाट बैङ्कका अन्य शाखाहरुमा जस्तै सर्वसाधारणले सबै प्रकारका निक्षेप तथा कर्जा करोबार सुविधा, विप्रेषण सेवा, बचतलगायतका सम्पुर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने बताइएको छ । राष्ट्रिय बाणिज्य बैङ्कले १ सय ७३ ओटा स्थानमा बैङ्कको शाखा खोलिसकेको छ । तर पर्वतमा भने राष्ट्रिय बाणिज्य बैङ्कको शाखा कुश्मा नगरपालिका बाहेक अन्य स्थानीय तहमा खुल्न सकेको छैन ।
बैङ्कले गाउँपालिकाको आर्थिक कारोबारमा सहजता ल्याएको गाउँपालिका अध्यक्ष राजु पौडेलले बताए । ६ ओटा वडा रहेको महाशिला गाउँपालिकाबासीहरु पनि बैङ्क सञ्चालनपछि खुशी भएका छन् ।