पक्की पुल बन्दा पनि गाडी गुड्दैनन्, बाटोको नाम ‘काङ्ग्रेस र एमाले’
Jan 26, 2018
 
समाचार
माघ १२, पर्वत । गत चैतमा कुश्मा र फलेवास नगरपालिकालाई जोड्ने गरी दुई नगरको सीमाना मल्याङ्दीखोलामा पक्की पुल वन्यो । पुल बनाउन पौने २ करोड रुपैयाँ खर्च भएको थियो । तर, पुल बनेपनि यो पुलबाट सवारी साधन भने गुड्न छाडेका छन् । साइकलचोक–नुवार–चुचुनदेउराली सडक खण्ड भरपर्दो नभएपछि अहिले वैकल्पिक मार्ग हुँदै सवारी साधन सञ्चालन हँुदै आएका छन् ।
पुल बनेपछि सडक कालोपत्र गर्ने बताइएको थियो । तर, उक्त सडक अहिले पनि ठाउँ ठाउँमा बिग्रिएको छ । ठाडो रहेका कारण सवारीसाधानहरु गुडाउन धकेल्ने र तान्ने गर्नुपर्छ । यहि समस्याले सवारीचालकहरुले अहिले तातोपानी–रुग्दी–चुचुनदेउराली सडकको प्रयोग गर्न थालेका छन् । गतवर्षसम्म समस्या झेल्दै सवारी साधन गुड्ने गरेपनि यो वर्षदेखि उक्त बाटो वन्द जस्तै छ । ‘मोटरसाइकल र ट्रयाक्टर बाहेक अरु गाडी यहाँ चल्न छाडे’, स्थानीय कुलप्रसाद शर्माले भने,‘ पुल बनेर के गर्ने बाटो गतिलो छैन ।’ पुल वनेपछि सडकको स्तरोन्नती हुनुपर्नेमा त्यसो हुन नसकेको उनले वताए । गाउँमा अव नियमित गाडी गुड्छन भन्ने आशा थियो उनले भने, ‘पक्कि पुल देखाउँनका लागि बनाएजस्तो पो भयो ।’
पुल नहुँदा वर्षा याममा यातायात वन्द भएको कारण यहाँ पुल बनाइएको थियो । पुल वनेपछि वर्षामा मात्रै होइन हिउँदमै गाडी गुड्न छाडेका छन् । ‘गत वर्षसम्म गाडी गुड्थे, हामी यहि बाटो ओहोर दोहोर गरिरहेकै थियौँ’, स्थानीय खड्कवहादुर कार्कीले भने, ‘तर यो वर्षदेखि रुग्दीको बाटो चल्न थालेकाले यताको बन्द भयो ।’
पुल नहुँदा सवारीसाधन चल्न समस्या रहेको भनेर ठूलो प्रयासले पुल बनाईएको तर, नगरपालीकाले वाटो मर्मत नगर्दा गाडी चल्न नसकेको राजनीतिज्ञ गंगाधर तिवारीले वताए । उनले नगरपालीकाले सडक मर्मत नगरिदिँदा ठाउँ ठाउँमा विग्रिएको कारण समस्या आएको वताए ।
बाटो पनि काङ्ग्रेस र एमालेको
फलेवास ३ का सडकहरु दलीय टकरावका कारण समस्याग्रस्त वनेका छन् । साईकलचोक–नुवार–चुचुनदेउराली सडक काङ्ग्रेसको र खानीगाउँ–खल्डाँडा–पोखराचौर सडक एमालेको सडकको रुपमा स्थानीयले चित्रण गर्ने गरेका छन् । फलेवास नगरपालिकामा एमालेको बहुमत छ । बहुमत एमालेको भएकाले काङ्ग्रेसले स्थानीय चुनाव जितेका वडामा सडक मर्मत गर्न नगरपालीकाले चासो नदिएको आरोप लाग्ने गरेको छ ।
नगरपालिकाको मेयर एमालेको तर्फवाट विजयी भएकाले काङ्ग्रेसको बाहुल्य क्षेत्रमा विकासका योजना नपारेको शंकरपोखरीका शिवप्रसाद तिवारीले वताए । एमाले र काङ्ग्रेसको सडक भनेर नगरपालीकाले भेदभाव गरेको तिवारीले आरोप लगाए ।
नगरपालीकाका मेयर पदमपाणी शर्माले भने कुनै पनि विकासका काममा राजनीतिक आँखाले नहरेको वताएका छन् । उनले आफू चुनाव जितेपछि कुनै पार्टीको नभएर साझा व्यक्ति भएकाले विकासमा राजनीतिक नगरेको वताए ।