माघ १७, सुर्खेत । प्रदेश नम्बर ६ को अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा आर्थिक वर्ष २०७४/०७५ को ६ महीनाको अवधिमा ४ सय ८३ ओटा भ्रष्टाचारका उजुरी परेका छन् । जसमा १ सय ४० ओटा मुद्दा फछ्र्योट भएको आयोगको सुर्खेत कार्यालयले बताएको छ ।
शिक्षा, स्थानीय विकास, वन तथा भू–संरक्षणसँग सम्बन्धित उजुरी बढी परेको देखिएको छ । आयोगमा सुर्खेत जिल्लाबाट सबैभन्दा बढी ९५ ओटा उजुरी परेको छ भने सल्यानबाट १९ ओटा मात्रै उजुरी परेको आयोगको सुर्खेत कार्यालयले बताएको छ । शिक्षा क्षेत्रमा परेका १ सय ५ ओटा उजुरीमा ४३ ओटा फछ्र्योट भएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकासमा १२२, वन तथा भू–संरक्षणमा ४६, स्वास्थ्यमा २५ र उर्जामा २२ ओटा उजुरी परका छन् ।
विद्यालय भवन निर्माण तथा छात्रवृत्रि वितरण, सामाजिक सुरक्षा भत्ता वितरण, उपभोक्ता समितिको गठनमा अनियमितता, स्थानीय निकायको आन्तरिक आयको विनियोजन र खर्च पारदर्शिता नभएकोलगायतका विषयमा उजुरी आएको आयोगको कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । औषधि खरीद र वितरणमा अनियमितता, भवन, सडक, पुल मापदण्ड स्टिमेट अनुसार नबनेको लगायतका उजुरी पनि आएको उनले बताए ।
६ नम्वर प्रदेशबाट आएका उजुरीहरु भौगोलिक विकटताका कारणले गर्दा समयमानै फछ्र्यौट गर्न कठिनाई भईरहेको सूचना अधिकारी सापकोटाले बताए । अनुसन्धानबाट कसैलाई पनि छुट्कारा नदिने भन्दै कोही कसैले अनियमितता गरेको पाइएमा कडाभन्दा कडा कारबाही गरिने उनको भनाइ छ ।
‘अनियमितता र सेवाग्राहीलाई दुख दिइएको पाइएमा हुलाक, इमेल, फ्याक्सबाट समेत उजुरी दिन मिल्छ,’ उनले भने, ‘भ्रष्टाचारीलाई कुनै पनि हालतले उन्मुक्ती नदिन सबैको समान दायित्व हुन्छ ।’ उनले कार्यालयमा परेका उजुरीमाथि सुक्ष्मरुपले अनुसन्धान हुने गरेको बताए ।