ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक घर एक रोजगारः गाउँपालिकाले दिन्छ मासिक ६ हजार

Feb 4, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

माघ २१, पर्वत । बढ्दो बेरोजगारी समस्या समाधानका लागि पर्वतको महाशिला गाउँपालिकाले ‘एक घर एक रोजगार’ अभियान सञ्चालन गर्ने योजना तय गरेको छ ।

बेरोजगार ६ सय युवालाई रोजगारी दिने योजना अनुरुप गाउँपालिकाले आवेदन माग गरेको छ । गाउँपालिका भित्रका १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरुलाई स्वयंसेवकको रुपमा नियुक्त गरी गाउँपालिकाले नै तलब दिने गरी आवेदन माग गरिएको हो । सरकारी जागिर खाएका एकाघरका कोही भएमा त्यस्ता युवालाई भने कार्यक्रममा समावेश नगरिने गाउँपालिकाले बताएको छ ।

स्वयंसेवकको रुपमा नियुक्त भएका उनिहरुलाई मासिक ६ हजार रुपैयाँका साथमा दैनिक २५ रुपैयाँ खाजाखर्च समेत उपलब्ध गराइने गाउँपालिका अध्यक्ष राजु पौडेलले शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

स्वयंसेवकलाई दुई महीनासम्म सीपमूलक र व्यावसायिक तालिम दिइनेछ । उनिहरुलाई सिकर्मी, डकर्मी, प्लम्बिङ, बाटो मर्मत, कृषि, पर्यटन, हाउजिङ, स्वास्थ्य, शिक्षा, खेलकुद, नृत्य, गायन, नाटक, होटल व्यवस्थापनका साथै परम्परागत बाँस र काठबाट हस्तकलाका सामग्री बनाउनेलगायतका विभिन्न प्राविधिक तालिम दिइने छ । त्यस्तै छनौट भएका युवालाई १ महीनासम्म कार्यमूलक, अनुसन्धानमूलक कार्यमा काम गरेर उनिहरुको दक्षता निक्र्यौल गरी सोही अनुरुप परिचालन गरिने छ ।

‘एक घर एक रोजगारी भन्ने नारा नै तय गरेर स्थानीय स्तरमा रोजगारी सृजना गर्न हामीले यो कार्यक्रम ल्याएका हौँ,’ शनिवार कुश्मामा पत्रकार सम्मेलन गर्दै गाउँपालिकाका अध्यक्ष पौडेलले भने, ‘अब हामी श्रमका लागि बाहिरबाट कामदार ल्याउदैनौँ ।’ गाउँपालिकाका अध्यक्ष पौडेलले कृषि, शिक्षा, पर्यटन र रोजगारीको क्षेत्रमा गर्ने कामको १० पृष्ठ लामो कार्ययोजना सार्वजनिक गरेका छन् । उनले कृषि, शिक्षा, पर्यटनका माध्यमबाट घर–घरमा आर्थिक समृद्धि र रोजगारी सृजना गर्न सकिने भएकाले यि चार क्षेत्रलाई एकअर्कासँग सम्बन्धित बनाएर योजना तय गरिएको बताए ।

गाउँपालिकाले स्थानीय तहमा जनप्रतिनिधी आएपछिको ८ महीनामा गरेका कार्य र आगामी दिनमा गर्ने कार्यहरुको जानकारी गराउदै अध्यक्ष पौडेलले कृषि अन्तर्गत तरकारी ढुवानीमा अनुदानको व्यवस्था भैसकेको बताए । त्यस्तै गाउँपालिकाले टनेलको व्यवस्था गर्ने, साना सिँचाईको व्यवस्था गर्ने, निःशुल्क बीउको व्यवस्था गर्ने योजना बनाएको छ ।

अलैँची, लप्सी, मौरीपालन, च्याउखेती, बाख्रापालन, भैँसीपालन, पाडापाडी संरक्षण जस्ता कृषिसँग सम्बन्धित कार्यक्रमलाई अनुदानको व्यवस्था गरिएको छ । ‘हामी अब परम्परागत कृषिलाई परिवर्तन गरेर आधुनिक र व्यावसायिक बनाउने योजनामा छौँ,’ अध्यक्ष पौडेलले भने, ‘सम्भावित क्षेत्रको खोजी गरेर तरकारी, फलफूल, जडिबुटी, चिया, कफी, लप्सी, अलैँचीलगायतका पकेट क्षेत्र बनाएर कृषिको विकासमा गाउँपालिका लागि पर्ने योजना पारित भैसकेको छ ।’

गाउँपालिकाले शिक्षाको क्षेत्रमा पनि दुरगामी योजना बनाएको छ । यसैवर्षदेखि सबै विद्यालयमा खाजा कार्यक्रम सञ्चालन भैसकेको छ । गाउँपालिका अध्यक्ष पौडेलका अनुसार सबै विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाई सञ्चालन गर्ने तयारी छ । गाउँपालिकाले ७ मिटर फराकिलो बाटो बनाउँदैछ ।

सबै वडामा रहेका काठेपोललाई विस्थापित गरी ४ सय ओटा फलामका पोल राख्ने योजनाअनुसार पोल खरीद गरिएको छ । ५ ओटा वडामा एक घर एक धारा पुर्‍याउने योजना रहेको छ । ६ ओटा वडा रहेको महाशिलाका सबै वडामा वडा कार्यालयको भवन बनाउने योजना समेत गाउँकार्यपालिकाले पारित गरेको छ । इण्टरनेटको व्यवस्था सबै वडामा पुगेको छ । व्यक्तिगत घटना अब कम्प्युटरको माध्यममार्फत राख्ने कार्य शुरु भैसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)