ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मन्त्रीको कोपभाजनमा पर्यटन सचिव : नेपाललाई ७ अर्ब क्षतिपूर्ति तिराउने षड्यन्त्र

Feb 5, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । पर्यटनमन्त्रीको मनोमानी अनुसार काम गर्न नमान्दा पर्यटनसचिव महेश्वर न्यौपाने मन्त्रालयमा आएको साढे ५ महीनामै सरुवा भएका छन् । उनको सरुवामा त्रिभुवन विमानस्थलको स्तरोन्नति गर्न छनोट भई सन्तोषजनक काम गर्न नसकेर रद्द भएको स्पेनिस निर्माण कम्पनी सान् होसे र नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक सरुवा प्रकरण तथा अन्य विभिन्न ठाउँको नियुक्तिलगायतका विषय भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । साढे ५ महीनाअघि निर्वाचन आयोगबाट सरुवा भई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय आएका न्यौपानेले पर्यटनमन्त्री जीतेन्द्रनारायण देवको इच्छाअनुरूप काम गर्न नमान्दा उनलाई सार्वजनिक खरीद अनुगमन कार्यालयमा सरुवा गरिएको हो । मन्त्री देवले माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकमा ठाडो प्रस्ताव लगेर न्यौपानेको सरुवा गराएका हुन् । न्यौपानेको सरुवासँगै मन्त्रालयमा सोही कार्यालयका सचिव कृष्ण देवकोटालाई ल्याइएको छ । न्यौपानेले ४ दिनअघि पत्र बुझी सार्वजनिक खरीद अनुगमन कार्यालयमा हाजिर भएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्न स्पेनिस कम्पनी सान् होसे छनोटमा परे पनि उसको काम सन्तोषजनक नभएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले टेण्डर रद्द गरेको थियो । यस विषयमा भएको मुद्दामा स्पेनको अदालतले भने नेपालकै पक्षमा फैसला गरेपछि कम्पनीले धरौटीबापत २ अर्ब रुपैयाँ तिरेको थियो । कम्पनीसम्बन्धी यो मुद्दा अहिले सिङ्गापुरको अदालतमा विचाराधीन छ । अहिले यो मुद्दामा नेपाललाई हराउन स्वयम् मन्त्री देव र मन्त्रालयका केही उच्च अधिकारी नै लागेको स्रोतको दाबी छ । स्तरोन्नतिमा ढिलासुस्ती भएको भन्दै मन्त्रिपरिषद्बाट निर्णय गराई उक्त कम्पनीसँगको टेण्डर रद्द गरिएको थियो । सान् होसेले मुद्दा जितेमा नेपालले ७ अर्ब क्षतिपूर्ति तिर्नुपर्ने प्राधिकरणका अधिकारी बताउँछन् । तर, उपप्रधानमन्त्री विजयकुमार गच्छदार र पर्यटनमन्त्री देवले सान् होसेको मुद्दामा नेपाललाई हराउँदै ७ अर्ब हिनामिना गर्न चाहेको र यसको अवरोधका रूपमा पर्यटन सचिव न्यौपाने देखिएपछि उनलाई सरुवा गरिएको स्रोतको दाबी छ । उक्त मुद्दामा कानून व्यवसायी राखेर बहसमा भाग नलिए नेपालले मुद्दा हार्न सक्ने मन्त्रालयका अधिकारी बताउँछन् । मन्त्री देवले पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई नागरिक उड्ड्न प्राधिकरणको महानिर्देशक बनाउन उनी मन्त्रालय आएदेखि नै लागिपरेका थिए । उनले गत असोज ९ गते नै प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई त्यहाँबाट हटाउने निर्णय गरेका थिए । त्यसका लागि उनले पहिले गौतमलाई स्पष्टीकरण सोधेका थिए । गौतमको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पुनः २४ घण्टे स्पष्टीकरणसमेत सोधिएको थियो । यो सबै काममा सहसचिव आचार्य सक्रिय थिए । तर, गौतमलाई हटाउने निर्णय भने निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरेको कारण हुन सकेन । नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधारका लागि विना प्रतिस्पर्धा जर्मन कम्पनी लुफ्थान्सालाई ल्याउन खोजेपछि सचिव न्यौपानेले विना प्रतिस्पर्धा कन्सल्टेन्ट ल्याउन नपाइने कारण देखाउँदै मन्त्री देवको प्रस्ताव अस्वीकार गरेका थिए । सान् होसे, लुफ्थान्सा, प्राधिकरण प्रकरण तथा लुम्बिनी विकास कोष, पशुपति विकास कोषलगायतका मन्त्रीले गर्न खोजेका नियुक्तिका विषयमा मन्त्रीको इच्छाअनुरूप काम नगरेपछि आफूलाई सरुवा गरिएको सचिव न्यौपानेले बताए । यस विषयमा मन्त्री देवसँग सम्पर्क गर्न खोज्दा उनी देश बाहिर भएकोले सम्पर्क हुन सकेन । अहिले मन्त्री देव सिङ्गापुरमा रहेको र १ हप्तापछि मात्रै स्वदेश फर्किने उनका स्वकीयसचिव योगेन्द्र देवले जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)