धनगढी । बैतडी दशरथ नगरपालिका–७ का हरिकृष्ण भाटले धनगढी उपमहानगरपालिकाको धनगढी चौराहमा एक कठ्ठा घडेरी खरीद गर्दा १ करोड ५१ लाख रुपैयाँ बुझाउनु पर्यो । बझाङ चैनपुरका सुरेश बुढाले धनगढीस्थित गोदावरी रोडमा आधा कठ्ठा घडेरी खरीद गर्न बैनापट्टा गरेका छन् । आधा कट्ठा घडेरी खरीद गर्न उनले जग्गाधनीलाई ८० लाख बुझाउनु पर्नेछ । बैनावापत ११ लाख रुपैयाँ बुझाइसकेका छन् ।
सरकारले कैलालीको धनगढीलाई अस्थायी मुकाम तोकेपछि हरिकृष्णले घडेरी खरीद गरेका हुन् भने बुढाले बैनावापत ११ लाख रुपैयाँ जग्गाधनीलाई बुझाएका हुन् । भाट र बुढा त केवल प्रतिनिधि पात्र मात्र हुन् । अस्थायी मुकाम धनगढी तोकिएसँगै घरजग्गाको मूल्य ह्वात्तै बढेको छ । प्रदेश नम्बर ७ का नौओटै जिल्लामा सरकारले घरजग्गाको नयाँ मूल्याङ्कन गरेको छ । तर, कागजी रूपमा सरकारी मूल्याङ्कनअनुसार राजस्व सङ्कलन भए पनि खरीदकर्ता र विक्रीकर्ताबीचमा भने छुट्टै सहमति भएर जग्गा खरीद–विक्री हुने गरेको छ ।
प्रतिकठ्ठा १ करोड ५० लाखमा विक्री भएको घडेरीको सरकारी मूल्याङ्कन ८५ लाख रुपैयाँ छ । यो प्रदेशमा मात्रै जग्गाको मूल्याङ्कन २५ प्रतिशत बढाइएको छ । प्रदेशकै सबैभन्दा बढी जनसङ्ख्या रहेको कैलालीको मूल्याङ्कन सबैभन्दा बढी छ । धनगढी र अत्तरिया क्षेत्रमा प्रदेशकै सबैभन्दा सरकारी मूल्याङ्कन तोकिएपछि विशेष गरी घडेरीको मूल्य ह्वात्तै बढेको हो । अस्थायी मुकाम धनगढी तोकिनु, मोहना–अत्तरिया ६ लेन सडक निर्माणले तीव्रता पाउनु, मेडिकल कलेज निर्माणले गतिलिनुलगायत कारण लाखौ रुपैयाँ सरकारी मूल्याङ्कन तोकिएको घरजग्गाको खरीद–विक्री करोडौंमा हुन लागेको हो ।
जग्गाको कारोबार धेरै भएका र शहरी पूर्वाधारहरू तयार भएका स्थानमा २५ प्रतिशतसम्मले मूल्याङ्कन बढाएको जिल्ला मालपोत कार्यालय धनगढीका प्रमुख मालपोत अधिकृत बिसनसिंह थापाले बताए । प्रदेशकै सबैभन्दा बढी घरजग्गाको सरकारी मूल्याङ्कन अत्तरियामा गरिएको छ । अत्तरियामा प्रति कट्ठा ९५ लाख रुपैयाँसम्म मूल्याङ्कन गरिएको छ । घोडाघोडी नगरपालिकामा प्रतिकट्ठा ५० लाख रुपैयाँसम्म मूल्याङ्कन गरिएको छ ।
यस्तै, लम्कीचुहा नगरपालिकामा राजमार्गसँग जोडिएका घरजग्गाको मूल्याङ्कन ५५ लाख रुपैयाँ गरिएको छ । टीकापुर नगरपालिकाभित्र भने प्रतिकठ्ठा ४० लाख रुपैयाँ मूल्याङ्कन गरिएको छ । धनगढी नगरपालिकाभित्र बाटो नभएका जमीनको मूल्य प्रतिकठ्ठा ३ लाख रुपैयाँसम्म कायम गरिएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएका जग्गाहरूको न्यूनतम १५ लाखदेखि ९५ लाख रुपैयाँसम्म मूल्याङ्कन गरिएको छ । हुलाकी राजमार्गमा पनि प्रतिकठ्ठा १० लाखदेखि २२ लाखसम्म मूल्याङ्कन गरिएको छ । त्यस्तै कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा यो वर्ष १५ प्रतिशतभन्दा बढीले घरजग्गाको मूल्याङ्कन बढाइएको छ ।