माघ २८, धनगढी । भारतसँग सिमा जोडिएको कैलालीको गौरीफण्टा तथा कञ्चनपुरको गड्डाचौकी नाकाबाट बस्तु आयात हुने क्रम वर्षेनि बढ्दै गएको पाइएको छ । दुबै जिल्लाको भन्सार नाका हुँदै भारत लगायत अन्य मुलुकमा उत्पादित बस्तुहरुको आयात वर्षेनि बढ्दै गएको एक तथ्याङ्कले बताएको छ । आइतवार कैलाली उद्योग बाणिज्य सङ्घमा भएको कार्यशाला गोष्ठिमा बाणिज्य मन्त्रालय अन्तर्गतका अन्तराष्ट्रिय ब्यापार सल्लाहकार मुरारीप्रसाद गौतमले प्रस्तुत गरेको प्रतिवेदनमा अन्तरराष्ट्रिय बस्तु आयात वर्षेनी बढ्दै गएको उल्लेख गरिएको छ ।
प्रतिवेदन अनुसार गौरीफण्टा र गड्डाचौकी नाकाबाट सन् २०१३ देखि २०१६ सम्म नेपालबाट निर्यात हुने बस्तुको भन्सार मूल्याङ्कन करोडमा छ भने आयातको मूल्याङ्कन अर्बौमा पुगेको उल्लेख छ । सन् २०१३ मा कैलालीबाट रू. ५७ करोडको निर्यात हुँदा आयातको अंश रू.७ सय ३९ करोड पुगेको थियो । सन् २०१६ मा उक्त नाकाबाट रू. ६४ दशमलव ५ करोडको नेपाली बस्तु निर्यात हुँदा भारतबाट रू.१ हजार ४ सय २२ करोडको आयात भएको प्रतिवेदनले देखाएको छ ।
त्यस्तै सन् २०१३ मा कञ्चनपुरको गड्डाचौकी नाकाबाट रू. ३ दशमलव ६ करोडको बस्तु निर्यात हुँदा भारतबाट रू.२४ दशमलव ८ करोडको सामाग्री आयात भएको छ भने सन् २०१६ मा उक्त नाकाबाट निर्यातको अंश घटेको छ । उक्त समयमा रू. ३ दशमलव ५ करोडको नेपालबाट बस्तु निर्यात हुँदा भारतबाट ९४ करोडको बस्तु आयात भएको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा भारत, चीन लगायत १० ओटा मुलुकबाट ३ हजार प्रकारका बस्तुहरु आयात हुने गरेको बाणिज्य मन्त्रालय अन्तर्गतका अन्तरराष्ट्रिय ब्यापार सल्लाहकार मुरारीप्रसाद गौतमले बताए । उनका अनुसार विदेशबाट आइरन तथा स्टिल १० दशमलव २ प्रतिशत, पेट्रोलियम पदार्थ ८ दशमलव ८६ प्रतिशत, सवारी साधन ८ दशमलव ५३ प्रतिशत, औद्योगिक उपकरण ७ दशमलव ३१ प्रतिशत, खाद्यबस्तु ५ दशमलव ४ प्रतिशत, इलेक्ट्रोनिक सामाग्री ४ दशमलव ४३ प्रतिशत, औषधि ३ दशमलव ४० प्रतिशत, टेलिकम उपकरण ३ दशमलव ४ प्रतिशत, सुन २ दशमलव ४ प्रतिशत तथा मलखाद २ दशमलव २ प्रतिशत गरी कुल ३ हजार प्रकारका बस्तुहरु नेपाल आयात हुने गरेको गौतमले बताए ।
स्वदेशी उत्पादनलाई बढावा दिन केही नीतिगत समस्या देखिएका कारण आयातमा निर्भर हुनु परेको मन्त्रालयको भनाइ छ । आर्थिक वर्ष २०७३।०७४ मा नेपालको बैदेशिक व्यापार घाटा रू.९ सय ९ दशमलव ३६ अर्ब पुगेको छ । भारतसँगको ब्यापार घाटा मात्रै रू.५ सय ८९ दशमलव ५७ अर्ब रहेको छ । चीनसँगको बैदेशिक ब्यापार घाटा रू. १ सयस २८ दशमलव ८ अर्ब तथा अन्य देशहरुसँगको ब्यापार घाटा रू.१ सय ८१ दशमलव ६१ अर्ब गरी कुल व्यापार घाटा रू.९ सय ९ दशमलव ३६ अर्ब पुगेको हो ।
उक्त अवधिमा कुल निर्यात रू.७४ दशमलव ७१ अर्ब रहेकोमा पैठारीको अनुपात रू. ९ सय ८४ दशमलव ७ अर्ब पुगेको तथ्याङ्कले देखाएको छ । भारतको बन्दरगाहबाट नेपालको भन्सारसम्म हुने पारबहन प्रक्रिया झन्झटिलो भएको उद्योगी व्यावसायीहरुले गुनासो गर्दै आएपछि उक्त प्रक्रियालाई बैज्ञानिक ढङ्गले अर्थात सिआइएफ तथा आइसिडिको मापदण्ड अनुसार मालसामान सम्बन्धित देश वा क्षेत्रमै पुर्याइदिने व्यवस्था रहेकाले यो प्रक्रियामा नेपाली उद्योगी व्यवसायीहरुले अबलम्बन गर्नुपर्नेमा बाणिज्य मन्त्रालयको जोड थियो । यसका लागि मन्त्रालयले ऐन संशोधनका लागि आवश्यक तयारी समेत गरिरहेको मन्त्रालयका सल्लाहकार हिमाल थापाले बताए ।