रौतहट । श्रीराम सुगर मिल्स, गरुडाले ‘सीओपी ९३०२’ प्रजातिको उखु किन्न नमानेपछि किसान आन्दोलित भएका छन् । विगतका वर्षमा उद्योगले किन्दै आएको यो प्रजातिको उखु किन्न उद्योगले अस्वीकार गरेपछि किसान आक्रोशित भएका हुन् । उखु उत्पादक सङ्घ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवले उद्योग परिसरमा रहेको यस्तो उखुको तौलमा ४० प्रतिशतसम्म कटौती गर्न थालेपछि आफूहरूले विरोध गरेको बताए । उद्योगमा १ सय क्वीण्टल उखु तौलँदा ६० क्वीण्टलको मात्र मान्यता हुन थालेको र अन्य जातको उखुलाई पनि सोही मापदण्ड लागू गर्न थालेपछि विरोध गर्नुपरेको उनको भनाइ छ ।
उद्योगले उक्त प्रजातिको उखुबाट चिनी उत्पादन पर्याप्त नभएको भन्दै लिन अस्वीकार गरिएको बताएको छ । किसानले भने उद्योगकै खराबीका कारण यस्तो समस्या आएको अनुमान गरेका छन् । चिनी मिलले उखु खरीद गर्नुपर्ने माग राख्दै किसानले केही दिनदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
उद्योगले उक्त प्रजातिको उखु नलिँदा जिल्लाका उखु किसान मर्कामा परेका छन् । एक क्वीण्टल उखु किन्दा उद्योगले करीब सात किलोमात्र चिनी निकाल्ने भएकोले घाटा बेहोर्नुपरेको श्रीराम सुगर मिल्सका उखु प्रबन्धक सियाराम साहले बताए । उद्योगले उक्त प्रजातिको करीब ६ लाख क्वीण्टल उखु क्रशिङ गरिसकेको र त्यसबाट अपेक्षाकृत परिमाणमा चिनी उत्पादन नभएको उनको भनाइ छ ।
जिल्लामा यसपालि ७ हजार बिगाहामा उखुखेती भएकोमा १ हजार १ सय ३८ बिगाहमा भने सो जातको उखु लगाएको थियो । मिलले सो जातको उखु नलगाउन पटकपटक अनुरोध गर्दा समेत किसानले नमानेका कारण मिलले बाध्य भएर उखु खरीद नगर्ने निर्णय लिएको प्रबन्धक साहले बताए । आव २०७१/७२ देखि नै सो जातको उखुमा समस्या देखिएपछि खेती नगर्न किसानलाई सुझाव दिइएको उनको भनाइ छ । यो जातको उखुमा विभिन्न रोग देखापरेकाले अन्य बालीमा समेत सर्ने सक्ने हुँदा सावधान रहन मिलले किसानलाई अनुरोध गरेको छ ।