धनगढी । कैलालीको गौरीफण्टा तथा कञ्चनपुरको गड्डाचौकी नाकाबाट वस्तु आयात वर्षेनि बढ्दै गएको पाइएको छ । दुवै जिल्लाको भन्सार नाका हुँदै भारतलगायत तेस्रो मुलुकमा उत्पादित वस्तुको आयात वर्षेनि बढेको तथ्याङ्क आइतवार कैलाली उद्योग वाणिज्य सङ्घमा प्रस्तुत गरिएको हो ।
भारतको बन्दरगाहबाट नेपालको भन्सारसम्म हुने पारवहन प्रक्रिया र नेपालको वैदेशिक व्यापार एवम् चुनौती विषयमा एक दिने कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा वाणिज्य मन्त्रालयअन्तर्गतका अन्तराष्ट्रिय व्यापार सल्लाहकार मुरारीप्रसाद गौतमले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपालमा भारत, चीनलगायत १० मुलुकबाट ३ हजार प्रकारका वस्तुहरू आयात हुने गरेको गौतमले बताए । स्वदेशी उत्पादनलाई बढावा दिन केही नीतिगत समस्या देखिएका कारण आयातमा निर्भर हुनु परेको मन्त्रालयको भनाइ छ । अत्यधिक आयातका कारण आर्थिक वर्ष २०७३/७४ मा नेपालको वैदेशिक व्यापारघाटा ९०९ दशमलव ३६ अर्ब पुगेको प्रतिवेदनमा उल्लेख छ ।
उक्त अवधिमा कुल निर्यात ७४ दशमलव ७१ अर्ब रहेकोमा आयात ९ सय ८४ दशमलव ७ अर्ब पुगेको तथ्याङ्कले देखाएको छ । भारतको बन्दरगाहबाट नेपालको भन्सारसम्म हुने पारवहन प्रक्रिया झन्झटिलो भएको उद्योगी व्यवसायीको गुनासो छ । मन्त्रालयले वैज्ञानिक ढङ्गले अर्थात् सीआईएफ तथा आईसीडीको मापदण्डअनुसार मालसामान सम्बन्धित देश वा क्षेत्रमै पुर्याइदिने व्यवस्था अवलम्बन गर्न आग्रह गरेको छ । यसका लागि मन्त्रालयले ऐन संशोधनको तयारीसमेत गरिरहेको मन्त्रालयका सल्लाहकार हिमाल थापाले बताए ।
कार्यक्रमको अध्यक्षता गरेका नेपाल उद्योग वाणिज्य महासङ्घ ७ नं. प्रदेशका अध्यक्ष शङ्कर बोगटीले विकासमा पछाडि परेको प्रदेशलाई माथि उकास्न विशेष आर्थिक क्षेत्र, सुख्खा बन्दरगाह, आयात निर्यात नाका तथा कर छूटलगायतको व्यवस्था अपरिहार्य भएको विचार व्यक्त गरे ।