ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

'पर्यटन' नै प्रदेश–६ को विकासको आधार

Feb 13, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

फागुन १, सुर्खेत । राजनीतिक दलका नेता, सरकारी अधिकारी तथा सरोकारवालाले प्रदेश–६, को समृद्धिको आधार पर्यटनलाई बनाउने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा मनघरी फाउण्डेशन नेपालको आयोजना र उद्योग बाणिज्य महासङ्घ प्रदेश न ६ को सहयोगमा आयोजित ‘प्रदेश ६ को पर्यटन विकासको अबको बाटो’ भन्ने विषयक अन्तरक्रियामा यस्तो प्रतिवद्धता गरेका हुन । उनीहरुले पर्यटन विकासका लागि प्रदेश ६ का पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधारको विकास, जनचेतना अभिवृद्धि, सकरात्मक सोच र व्यवस्थापनमा जोड दिन आवश्यक रहेको औल्याए ।

प्रदेश–६ का पर्यटकीय गन्तव्य रारा, शे फोक्सुण्डो, छायाँनाथ, काक्रेविहार, बुलबुले, पञ्चकोशी, हिल्सालगायतका क्षेत्रमा पूर्वाधार निर्माण कम भएको तथा व्यवस्थापनमा पनि कमजोरी रहेकोले प्रदेश सरकारले जोड दिने माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले बताए । शाहीले प्रदेह–६, को पर्यटनको विकासका लागि धेरै बहसभन्दा पनि व्यवहार देखाउने बेला आएको उल्लेख गर्दै कर्णालीका जिल्लालाई पहिचानयुक्त जिल्लाको विकास गरी पर्यटन प्रवद्र्धनमा लाग्ने प्रतिवद्धता देखाए । शाहीले भने ‘रक क्लाइविङ, हाइड्रो टुरिजम, एग्रोटुरिजम, हर्बल टुरिजमको विकास गर्न सकिन्छ, त्यसका लागि सकारात्मक सोच र आत्मकेन्द्रीत सोचमा परिवर्तन आवश्यक छ ।’ कार्यक्रममा बोल्दै एमाले नेता प्रकाश ज्वालाले पर्यटन र कृषिले नै प्रदेश–६, को विकासमा महत्पूर्ण भूमिका निर्वाह गर्ने गरेको उल्लेख गरे । प्रदेश–६, का १० ओटै जिल्ला पर्यटकीय गन्तव्य भएका क्षेत्र भए पनि प्रचारप्रसारको अभावले पर्यटक आकर्षित हुन नसकेको बताए । ‘सुरक्षित सडक, नियमित हवाई उडानको समस्याका कारणले अहिले पर्यटनको विकास हुन सकेको छैन, अब गन्तव्यको विकासमा यी दुवै प्राथमिकतामा पर्छ तर हामी सबै मिलेर जानुको विकल्प छैन,’ ज्वालाले भने ।

त्यसैगरी, नेपाली काङ्ग्रेस प्रदेश–६, का संसदीय दलका नेता जीवनबहादुर शाहीले आन्तरिक भन्दा पनि वाह्य पर्यटकलाई आर्कषित गर्नुपर्ने धारणा राखे । देशको जीडिपीमा योगदान पुर्याउने गरी पर्यटनको विकास गर्नुपर्ने उल्लेख गरे । शाहीले भारत र चीनका पर्यटकलाई मात्र आर्कषित गर्न सक्दा पनि देशको जीडिपीमा योगदान पुग्ने बताए । तर, यसका लागि दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना आवश्यक पर्ने शाहीको भनाइ छ । ‘सडक, विमानस्थल, स्वास्थ्य केन्द्र, उद्धार टोलीको व्यवस्थापन पर्यटकका लागि आधारभूत आवश्यकता हुन त्यसमा पहिला जोड दिनुपर्नेछ,’ शाहीले भने । यस्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषदका प्रमुख सचिव सुरेश प्रधानले प्रदेश–६, मा पर्यटकहरुको तथ्याङ्क समेत नभएकोले पहिला होटल, पर्यटकको लागत आवश्यक रहेको उल्लेख गरे । प्रदेश ६ मा पर्यटन विकासको आधार नै बनि नसकेकोले प्रदेशसभाले पहिला आधार बनाउनु पर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश–६, का संयोजक पदम शाहीले पर्यटन विकासका लागि वीरेन्द्रनगरमा विमानस्थलको स्तरोन्नति अनिवार्य रहेको उल्लेख गरे । त्यसैगरी, सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश अधिकारीले पनि पूर्वाधार विकासमा जोड दिएका थिए । वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले समग्र प्रदेश नम्बर ६ को पर्यटन गुरुयोजना आवश्यक रहेको बताए । पर्यटककालाई चाहिने आधारभूत आवश्यकता तयार गर्न जरुरी उनको भनाइ थियो । ‘सुर्खेतको काँक्रेविहारदेखि मानसरोवरसम्मको गुरु योजना बनाउन जरुरी रहेको छ,’ उनले भने, ‘समग्र पर्यटन विकासका लागि मात्र नभएर सरकारको नीति नै परिवर्तन आवश्यक छ ।’ त्यस्तै मनघरी फाउण्डेशनका सल्लाहकार डा रवीन खड्काले भने पर्यटनको अथाह सम्भावना रहेको छ तर यसको उचित लाभ लिन सकिएको छैन । मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले प्रदेश नम्बर ६, को समृद्धीको आधार पर्यटन र जडीबुडी नै भएकाले यस तर्फ सबै एक जुट हुन जरुरी रहेको औल्याए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)