सुर्खेत । राजनीतिक दलका नेता, सरकारी अधिकारी तथा सरोकारवालाले पर्यटनलाई प्रदेश–६ को समृद्धिको आधार बनाउने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा मनघरी फाउण्डेशन नेपालको आयोजना र उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ६ को सहयोगमा मङ्गलवार आयोजित ‘प्रदेश ६ को पर्यटन विकासको अबको बाटो’ विषयक अन्तरक्रियामा उनीहरूले यस्तो प्रतिबद्धता गरेका हुन् । पर्यटन विकासका लागि प्रदेश नं ६ का पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधारको विकास, जनचेतना अभिवृद्धि, सकारात्मक सोच र व्यवस्थापनमा जोड दिनुपर्ने उनीहरूले औंल्याए ।
प्रदेश–६ का पर्यटकीय गन्तव्य रारा, शे–फोक्सुण्डो, छायानाथ, काँक्रेविहार, बुलबुले, पञ्चकोशी, हिल्सालगायत क्षेत्रमा पूर्वाधार सुविधा कम भएको र व्यवस्थापनमा समेत कमजोरी रहेकोले प्रदेश सरकारले जोड दिने माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले बताए । ‘रक क्लाइम्बिङका साथै जल, कृषि तथा हर्बल पर्यटनको विकास गर्न सकिन्छ,’ उनले भने, ‘त्यसका लागि सकारात्मक सोच र आत्मकेन्द्रित सोचमा परिवर्तन आवश्यक छ ।’ कार्यक्रममा एमाले नेता प्रकाश ज्वालाले पर्यटन र कृषि नै प्रदेश–६ को विकासको आधार भएको उल्लेख गरे । प्रदेश–६ का १० ओटै जिल्लामा पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसार नहुँदा पर्यटक आकर्षित हुन नसकेको उनले बताए । ‘सुरक्षित सडक र नियमित हवाई सेवाको अभावले अहिले पर्यटनको विकास हुन सकेको छैन,’ उनले भने ।
नेपाली काङ्ग्रेस प्रदेश–६ का संसदीय दलका नेता जीवनबहादुर शाहीले देशको कुल गार्हस्थ्य उत्पादनमा योगदान पु¥याउने गरी पर्यटनको विकास गर्नुपर्ने धारणा राखे । यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिव सुरेश प्रधानले प्रदेश–६ मा पर्यटक आगमनको तथ्याङ्कसमेत नभएकोले पहिला होटल र पर्यटकको लगत राखिनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश–६ का संयोजक पदम शाहीले पर्यटन विकासका लागि वीरेन्द्रनगरमा विमानस्थलको स्तरोन्नति अनिवार्य रहेको औंल्याए । त्यसैगरी, सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश अधिकारीले पनि पूर्वाधार विकासमा जोड दिएका थिए । वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले समग्र प्रदेश–६ को पर्यटन गुरुयोजनाको आवश्यकता देखाए । त्यस्तै, मनघरी फाउण्डेशनका सल्लाहकार डा. रविन खड्काले भने पर्यटनको अथाह सम्भावना भए पनि त्यसबाट उचित लाभ लिन नसक्नु विडम्बना भएको बताए । फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले प्रदेश–६ को समृद्धिको आधार पर्यटन र जडीबुटी नै भएकोले यसको विकासमा सबै एकजुट हुन आग्रह गरे ।