फागुन ४, पर्वत । ट्राफिक प्रहरीले चालू आर्थिक वर्ष २०७४/०७५ को ७ महीनाको अवधिमा २६ लाख ३९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष शुरु भएको श्रावणदेखि माघ मसान्तसम्म प्रहरीले उक्त राजस्व संकलन गरेको बताइएको हो ।
यस अवधिमा कुल ४ हजार ४ सय ४० ओटा सवारी साधनहरु कारबाहीमा परेका छन । जसमा ७ सय २६ ओटा बस, ४ सय ९० ओटा ट्रक, १ हजार ४ सय ८० ओटा जिप, कार र भ्यान, ४ सय १३ ओटा ट्रयाक्टर र १ हजार ३ सय ३१ ओटा मोटरसाईकल छन । यस अवधिमा सबैभन्दा असोजमा ८ सय सवारी साधनलाई गरीएको कारबाहीबाट ४ लाख ६९ हजार रुपैयाँ राजश्व उठेको छ भने सबैभन्दा कम पुषमा ५ सय ५० सवारी साधनहरुमाथि गरिएको कारबाहीबाट ३ लाख २४ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ ।
ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले ७ महीने अवधिमा गरेका कामको वारेमा जानकारी दिँदै सवारी चेक जाँचमा उल्लेख्य तिब्रता दिएको बताए । हाईवे र बजार क्षेत्रभित्र समानान्तर रुपमा चेकजाँच गरिरहेका कारण कारबाहीमा पर्ने सवारी साधनहरुको सङ्ख्यामा निकै वृद्धि भएको कार्यालय प्रमुख रानाभाटले जानकारी दिए ।
कारबाहीमा पर्नेमध्ये सबैभन्दा तीब्र गतिमा सवारी हाँक्ने र कागजपत्र बिना नै सवारी चलाउनेहरु रहेका छन् । अहिले दैनिक झण्डै ५० देखि ७० ओटासम्म सवारी साधनहरु कारबाहीमा पर्ने गरेका छन । ट्राफिक प्रहरीले पैदल र सवारी मार्पmतबाट पनि छड्के चेकजाँचलाई तिब्रता दिएको छ । प्रहरीको सक्रियताकै कारण दुर्घटना कम हुँदै गरेको र राजश्वमा पनि वृद्धि भएको ट्राफिक प्रहरीले दावी गरेको छ ।