पर्वत । फलेवास नगरपालिकाले सबै वडालाई नगरको केन्द्र खानीगाउँसम्म जोड्ने गरी चक्रपथ बनाउन शुरू गरेको छ । नगरपालिकाले भएका सडकलाई स्तरोन्नति गर्ने र आवश्यक ठाउँमा नयाँ ट्र्याक खोलेर नगरपालिकालाई चक्रपथले जोड्ने गरी काम थालेको हो ।
नगरपालिकाले सडकको अवस्था हेरेर ८ मिटरदेखि २५ मिटर सडक चौडा गराउने नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए । उनका अनुसार नगरपालिकाको कार्यालय खानीगाउँदेखि लिमीठाना–ठानामौला–भङ्गरा जाने सडक चौडा गर्न काम थालिएको छ ।
मुडिकुवादेखि देवीस्थान हुँदै नगरपालिकाको कार्यालय आउने बाटो तथा नगरपालिकादेखि शङ्करपोखरी–थापाठाना–कार्कीनेटा जाने सडकको स्तर वृद्धि योजना पनि तयार भएको छ । खानीगाउँ–लिमीठाना–कुर्घा–पाङराङ सडकलाई पनि चौडा गरिँदै छ ।
‘अब नगरपालिकाको केन्द्रबाट सबै वडामा एकै रुटबाट पुग्न सकिने सडक बनाउँदै छौं,’ शर्माले भने । अहिले नगरपालिकाका सबै वडामा सहज रूपमा गाडी गुड्न सक्दैनन् । नगरपालिका आउन सीधा यातायातको सुविधासमेत नागरिकले पाउन सकेका छैनन् । ‘फलेवासमा १ इञ्च पनि कालोपत्रे सडक छैन,’ शर्माले भने, ‘हामीले ५ वर्षभित्र सबै सडक नभए पनि मुख्य सडकहरू कालोपत्र गर्ने योजना बनाएका छौं ।’
नगरपालिकाले सडक स्तरोन्नतिको शीर्षकगत बजेट विनियोजन नगरे पनि पूर्वाधार विकासतर्फ ८ करोड ४ लाख ४७ हजार बजेट विनियोजन गरेको छ । अहिले नसकिएको काम क्रमागत योजनामा राखेर अर्को वर्ष पूरा गर्ने नगरपालिकाका प्रशासकीय अधिकृत मोती सापकोटाले बताए । सदरमुकाम हुँदै फलेवास नगरपालिकालाई जोड्ने गरी दोबिल्ला–फलेवास सडकको आधाजसो भागमा भने कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ ।