ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अल्लो प्रशोधनमा नयाँ प्रविधिको प्रयोग, श्रम र समयको बचत

Feb 19, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

फागुन ७, पर्वत । वनमा पाईने चाल्ने सिस्नो ‘अल्लो’ प्रशोधन गर्न नयाँ प्रविधि प्रयोग गर्न थालिएको छ । जिल्लाको मोदी गाउँपालिका–३ घुरुँगामा अल्लोको प्रशोधन गर्न नयाँ प्रविधिको प्रयोग गर्न थालिएको हो ।

यसअघि परम्परागत घरेलु प्रविधिबाट अल्लो चाल्ने, मुङग्राले चुट्ने र घाममा सुकाउने गरेका उद्यमीहरुलाई पोखरा विश्वबिद्यालय र कोरियाको हाङदोङ विश्वविद्यालयका अन्वेशकहरुले अल्लो प्रशोधन गर्ने मेशिन सहयोग गरेपछि नयाँ प्रविधि प्रयोग गर्न थालिएको हो ।

अल्लो प्रशोधनको नयाँ प्रविधि र भुमेप्रसाद डल्लु सामुदायिक अल्लो प्रशोधन उद्योगको उद्घाटन गरिएको छ । घुरुङ्गमा स्थापित उद्योगको मोदी गाउँपालिकाकी अध्यक्ष सेती महत र हङ्गदङ्ग विश्वविद्यालय कोरियाका प्राध्यापक योनसिक हानले संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष महतले लघुउद्यमीहरुलाई नयाँ प्रविधि, सीप र पूँजीमा सहयोग गरेर गाउँघरमै रोजगारी बढाउन आवश्यक भएको बताइन् । उनले अल्लो प्रशोधनलाई व्यावसायिक बनाउन गाउँपालिकाले २० वर्षे उद्योग रणनीति बनाएर अघि बढेको जानकारी दिइन् ।

उद्यमीहरुलाई सहज रुपमा र छिटो छरितो रुपमा प्रशोधन गर्न सहज होस् भनेर अल्लो प्रशोधन मेशिन सहयोग गरिएको पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा. अजय थापाले बताए । ‘नयाँ प्रविधिको विकासले अल्लोको भुवा प्रशोधनमा ठुलो उपलब्धि हासिल भएको छ’ डा. थापाले भने ‘यसले छोटो समयमा धेरै र गुणस्तरीय भुवा उत्पादनमा महत्वपूर्ण सहयोग पुगेको छ ।’

यहाँका महिलाले परम्परागत प्रविधिबाट अल्लो प्रशोधन गरी विभिन्न खालका कपडा बनाएर बजार पठाउने गरेका छन् । करीब दुई दशकदेखि वनमा खेर गएको अल्लो सङ्कलन गरेर यहाँका मगर समुदायका महिलाहरुले आम्दानी गर्दै आएका छन् ।

अल्लोको लोक्ता पकाउने, कुट्ने र पखाल्ने आधुनिक प्रविधि अपनाइएको छ । परम्परागत रुपमा प्रशोधन गर्दा धेरै ज्यामी र शारीरिक श्रम लाग्ने तथा समय समेत बढेकाले नाफा कमाउन कठिन हुँदै आएको थियो ।

१० जना मजदुरले गर्ने काम अहिले १ जनाबाटै सम्भब हुने भएको छ । स्थानीय अगुवा उद्यमी रनमाया पुनले मेशिन भएपछि अब समय र मिहेनतको बचत भएको बताइन् । ‘नयाँ प्रविधिले अब काम छिटो र उत्पादन पनि गुणस्तरीय हुने अनुमान छ’, पुनले भनिन्, ‘मेशिन पाएपनि हामीलाई नियमित बजारको पनि खाँचो छ ।’

उनले आफुहरुले उत्त्पदन गर्ने कपडाको माग विदेशमा बढी हुने भएपनि नेपालको आन्तरिक बजारमा खासै माग नहुने गुनासो गरिन् । नेपालमा पनि बजार विकास गर्न सम्बन्धित निकायसँग स्थानीय अल्लो उद्यमी महिलाले माग गरेका छन् ।

नयाँ प्रविधिको विकास गर्नका लागि कोरियाको विज्ञान प्रविधि मन्त्रालय, नेशनल रिर्सच फण्ड कोरिया, हङ्गदङ्ग विश्वविद्यालय, नेपाल इनोभेसन एण्ड इन्टरप्रेनरशीप सेन्टर, पोखरा विश्वविद्यालयलगायतले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए ।

लघुउद्यमका क्षेत्रमा लामो समय काम गरेका तुलसी सुवेदीले अन्वेषकहरुलाई गाउँमा पु¥याएका थिए । अहिले प्रविधिको सफल परीक्षणपछि आफ्नो उद्देश्य पुरा भएको सुवेदीले बताए । ‘महिलाहरुलाई उद्यमको विकासमा राज्यले खासै सहयोग गरेको पाएको छैन,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)