ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बक्यौता नतिरे उडान बन्द गर्ने चेतावनी

Feb 20, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले लामो समयसम्म विमानस्थललाई बुझाउनुपर्ने रकम नबुझाएका विमान कम्पनीको उडान बन्द गर्ने चेतावनी दिएको छ । विमानस्थललाई विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विमान कम्पनीले करोडौं रुपैयाँ तिर्न बाँकी छ । विमान कम्पनीको बक्यौताका विषयमा सञ्चारमाध्यममा समाचार आएपछि विभिन्न कम्पनीले बक्यौता रकम तिरेका छन् । यद्यपि कतिपयले अझै अटेर गरेकाले त्यस्ता विमान कम्पनीको उडान बन्द गर्नेसम्मको जानकारी सम्बन्धित विमान कम्पनीलाई गराएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले जानकारी दिए । हाल सञ्चालित विभिन्न अन्तरराष्ट्रिय तथा आन्तरिक विमान कम्पनीले करीब ६० करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्नुपर्ने छ । अन्तरराष्ट्रिय उडानमा सबैभन्दा बढी बक्यौता तिर्न बाँकी रहेको एयर एशियालाई विमानस्थल कार्यालयले फ्रेबु्रअरी २८ (फागुन १६) तारीखसम्मको समयसीमा दिएर पत्राचार गरेको छ । त्यस अवधिमा बक्यौता नतिरे उडान तथा अवतरणमा प्रतिबन्ध लगाउने तयारी भइरहेको क्षत्रीले बताए । एयर एशिया एक्सको हालसम्म करीब १७ करोड रुपैयाँ बक्यौता रहेको विमानस्थलले जानकारी दिएको छ । क्षत्रीले भने, ‘सीमा अवधिभित्रै बक्यौता रकम नतिरे एयर एशिया एक्सको सेवा नै बन्द हुनेछ ।’ गत महीना सो कम्पनीले करीब २ करोड ५० लाख रुपैयाँभन्दा बढी बक्यौता तिरेको थियो । कम्पनीले काठमाडौंका लागि हप्तामा पाँचओटा उडान गर्दै आएको छ । बक्यौता रकम तिर्नुपर्नेमा नेपाल एयरलाइन्सलगायत थुप्रै एयर कम्पनी छन् ।

हाल सञ्चालनमा रहेका आन्तरिक र अन्तरराष्ट्रिय एयरलाइन्सका ७१ कम्पनीको मात्र ५९ करोड ५० लाख १८ हजार रुपैयाँ बक्यौता छ । आन्तरिक कम्पनी सौर्य एयरलाइन्स र सिम्रिक एयरलाइन्सको बक्यौता रकम सबैभन्दा धेरै छ । अन्य निजी हवाई सेवाप्रदायक कम्पनीको धेरै रकम बक्यौता नरहेको र बक्यौता रकम तिर्न सचेत गराएपछि नियमितरूपमा तिर्दै आएको क्षत्रीले बताए । विमानस्थलले विकास शुल्क, ल्याण्डिङ र पार्किङ शुल्क, हवाई परिवहन, सुरक्षा शुल्क, कार्यालय सञ्चालन कोठा, काउण्टर, होर्डिङबोर्ड विमानस्थलभित्र सञ्चालन गरेको पसल, भण्डारणलगायत शुल्क लिने गर्छ । विमानस्थल सेवाशुल्क नियमावली २०६७ अनुसार बिल जारी गरेको ७ दिनभित्र बक्यौता रकम तिरेमा ३ प्रतिशत शुल्क छूट दिने व्यवस्था छ भने ३० दिनदेखि ४५ दिनसम्म ५ प्रतिशत जरीवाना लाग्ने गरेको छ । सोभन्दा माथिको सोहीअनुसार जरीवानाको व्यवस्था छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)